• ४ पुस २०८१, बिहिबार

आकर्षक जागिर छाडेर गाईपालन

blog

कन्हैयालाल केशरी 

पर्सा, चैत १६ गते । भारतको नयाँ दिल्लीको सफ्टवेयर इन्जिनियरको आकर्षक जागिर छाडेर पर्सा पकहामैनपुर गाउँपालिका–१, धोरेका श्यामवदन यादव गाईपालन व्यवसायमा रमाउनुभएको छ । मासिक दुई लाख भारतीय रुपियाँको जागिर छाडेर आफ्नै गाउँघरमा व्यवसाय गर्ने गरी फर्कनुभएका यादवले पाँचवटा गाईबाट १५ वर्षअघि सुरु गर्नुभएको थियो । अहिले उहाँले ठोरी गाउँपालिका–५, सुवर्णपुरमा कलश क्याटल फार्मिङको नाममा १५० वटा गाईपालन गरिरहनुभएको छ । 

भारतको जागिर छाडेर स्वदेश फर्किएका यादवलाई नेपाल सरकारले कृषिमा आधारित उद्योग व्यवसायको अवलोकनका लागि इजरायल पठाएको थियो । 

कृषिमा इजरायलले गरेको प्रगतिबाट प्रभावित भएर सुवर्णपुरमा १३ बिघा जग्गामा लगभग ५० करोड रुपियाँको लागतमा इजरायली प्रविधि प्रयोग गरी गाईपालन व्यवसायलाई विस्तार गर्नुभएको हो । 

उहाँको फार्ममा गाई दुहुने ठूला छवटा सेट छन् भने गोबरबाट जैविक मलको उत्पादन र गोबर ग्यासबाट विद्युत् उत्पादन भइरहेको छ । एक वर्षभित्र एक हजार गाई पाल्ने र गाईको गोबरबाट प्रत्येक दिन १८ देखि २० हजार टन जैविक मल तथा बायोग्यास उत्पादन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । यस कार्यमा उहाँकी श्रीमती सिभिल इन्जिनियर सविता यादवले पनि सहयोग गरिरहनुभएको छ । यादवले आफ्नै गाउँ धोरेमा स्थापना गरेको कलश मिल्क इन्डस्ट्रिजबाट कलश पाकेट दूध, दही, बटर, पनिर, आइसक्रिम उत्पादन गरिरहनुभएको छ ।