देवराम प्रसाद यादव
सप्तरी, चैत १५ गते । भारतको विभिन्न राज्यमा केही समय यता कोरोना सङ्क्रमण बढे पनि सीमा नाकामा सतर्कता अपनाइएको छैन ।
सप्तरीको बेल्हि, नर्धो, तिलाठी, पातो,कोदरकटी, छिन्नमस्तालगायतका सीमा नाकाबाट दैनिक सयौँको सङ्ख्यामा भारत–नेपाल आवतजावत गर्दा स्वास्थ्य परीक्षण नगर्दा जोखिम बढेको स्वास्थ्यकर्मीहरू बताउनुहुन्छ ।
केही महिना यता सप्तरीमा कोरोना सङ्क्रमण दर शून्यमा झरे पनि भारतमा फेरि कोरोना सङ्क्रमण बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव कोरोनाको सङ्क्रमण सप्तरीमा पनि फैलिन सक्ने भएकाले सबै सर्वसाधारण सचेत रहन आग्रह गर्नुहुन्छ ।
उहाँका अनुसार पीसीआर ल्याब हाल बन्द भएकाले पनि कोरोनाको वास्तविक अवस्था बुझ्न कठिन भएको बताउनुभयो ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पिसीआर प्रयोगशाला भए तापनि कर्मचारीको अभावमा हाल परीक्षण सेवा ठप्प भएको मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले बताउनुभयो ।