काठमाडौं, चैत २१ गते । ललितपुरका २० वर्षीय पुरुष एक महिना अघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिज भएर भर्ना हुनुभयो । अस्पतालमा भर्ना भएको चार दिनपछि उहाँको मृत्युभयो । पेसाले इन्जिनियर उहाँलाई दुई महिना अघि बिहान हिँड्दै गर्दा कुकुरले टोकेको थियो । कुकुरले टोकेर सामान्य घाउ बनाएकाले उहाँले नजिकैको फार्मेसीमा गएर घाउ सफा गरेर टिटि विरुद्धको खोप लगाउनुभयो । त्यो घाउ त्यत्तिकै निको हुँदै गएपछि उहाँले रेबिजविरुद्धको खोप लगाउनुभएन ।
एक महिनापछि बिहान उठ्दा ज्वरो आउनुका साथै शरीर दुखेको थियो । सामान्य ज्वरो होला भनेर उहाँले सिटामोल खाएर काममा जानुभयो । दिउँसो ज्वरो झन् झन् बढ्दै जानुका साथै डाढ दुख्ने, पानी, हावादेखि डर लाग्ने जस्ता लक्षण देखिन थाले । उहाँ नजिकैको अस्पतालमा उपचारको लागि जानुभयो । त्यहाँका चिकित्सकले रेबिजको शङ्का गरेर शुक्रराज ट्रपिकल तथा शरुवारोग अस्पतालमा पटाउनुभयो र त्यहाँ गएपछि रेबिज भएको पुष्टि भएको थियो ।
यस्तै, काठमाडौंका ५० वर्षीय एक पुरुष शिक्षकको अस्पतालमा भर्ना भएको पाँच दिनमा मृत्युभयो । अस्पतालमा उहाँले आफूलाई दुई महिना अघि विद्यालयबाट घर फर्किने क्रममा समुदायमा रहेको कुकुरले टोकेको बताउनुभयो । टोकेको ठाउँमा धेरै घाउ नभएकाले उहाँले टिटानस विरुद्धको खोप लगाउनुभयो । उहाँले परिवारका सदस्यलाई कुकुरले टोकेको कुरा भन्नुभएन । दुई महिनापछि उहाँलाई बिस्तारै लक्षण देखिन थाले । आक्रामक हुने, पानीसँग डराउने जस्ता लक्षण देखिएपछि परिवारले उहाँलाई अस्पतालमा पुर्याएका थिए ।
माथि उल्लेखित यी दुई प्रतिनिधि घटना हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा वैशाखदेखि फागुनसम्म छ जना महिला र ११ पुरुष गरी १८ जनाको रेबिजका कारण मृत्यु भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हरेक वर्ष एक सय जना रेबिजका बिरामी देखिन्छन् । हरेक वर्ष विश्वमा रेबिजको कारणले लगभग ६० हजार मानिसको मृत्यु हुन्छ । स्वास्थ्य सेवा विभागले निकालेको वार्षिक प्रतिवेदनमा नेपालमा करिब आधा जनसङ्ख्या रेबिजको उच्च र एक चौथाइ जनसङ्ख्या मध्यम जोखिममा छन् । रेबिजको समस्या सबैभन्दा बढी तराइमा, पहाडी जिल्लामा मध्यम र हिमाल क्षेत्रमा कम जोखिम रहेको उल्लेख छ ।
अस्पतालका निर्देशक डा. मनिषा रावलकाअनुसार अस्पतालमा सबैभन्दा बढी बिहान मनिङवाक निस्किँदा कुकुरले टोकेर आउने बताउनुहुन्छ । निःशुल्क रेबिजविरुद्धको खाप उपलब्ध हुँदाहुँदै पनि कुनै पनि जनावरले टोकिसकेपछि खोप लगाउनुपर्छ भन्ने चेतनाको कमी भएको उहाँले बत्ताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “जनावरले टोकेपछि रेबिज हुन्छ भन्ने विषयमा सहरी क्षेत्रका मानिसमा नै जनचेतना पुगेको छैन । उहाँहरू जनावरले टोकेपछि बेवास्ता गरेर रेबिजविरुद्धको खोप नलगाउने हुँदा मृत्युको मुखमा पुग्छन् ।”
एक वर्षमा एक लाख बढीले लगाए खोप
टेकु अस्पतालमा कुकुर अथवा अन्य जङ्गली जनावरले टोकेर रेबिजविरुद्धको खोप लगाउन आउनेको सङ्ख्या बढ्दो छ । अस्पतालका अनुसार हाल दैनिक चार सयदेखि ४५० हाराहारीमा खोप लगाउन आउने गर्छन् ।
टेकु अस्पतालका ओपिडी इन्चार्ज शङ्कर पाण्डेका अनुसार आर्थिक वर्ष ७८/७९ एक लाख एक हजार १९६ जनाले खोप लगाएका छन् । कुकुरले टोकेका मात्र ३८ हजार ७४८ जना रहेका छन् । जसमध्ये १० हजार ७३७ मासुमा र ४४३ जनाले छालामा सुई लगाएका छन् ।
तीन महिनामा जनावरले टोकेर ११ हजार ११८ जनाले खोप लगाएका छन् । गत कात्तिकमा आठ हजार ४४१ जनाले खोप लगाएका थिए । जसमा तीन हजार ७५२ जना थिए । ९२५ जनाले मासुमा र सात हजार ५१८ जनाले छालामा सुई लगाएका छन् । त्यसैगरी, मङ्सिरमा आठ हजार ४६८ जना जनावरले टोकेर अस्पताल खोप लगाउन पुगेका थिए । तीमध्ये ३ हजार ५१५ जना नयाँ बिरामी रहेका छन् । ७६६ मासुमा सुई लगाएका छन् भने सात हजार ७०२ जनाले छालामा सुई लगाएका छन्
यसैगरी,पुसमा नौ हजार ३०४ जनाले रेबिज विरुद्धको खोप लगाएका छन् । पुसमा मात्रै तीन हजार ८५१ जना नयाँ बिरामी अस्पताल पुगेका थिए । जसअन्तर्गत मासुमा ७३२ जनाले खोप लगाए । छालामा ८ हजार ५७२ जनाले खोप लगाए ।
पाण्डेका अनुसार रेबिजविरुद्धको खोप आइडी छालामा चारपटक लगाउनुपर्छ । ओपिडी इन्चार्ज पाण्डेका अनुसार माघमा १० हजार ४४५ जना बिरामी पुगेका थिए। माघमा चार हजार १३२ जना नयाँ बिरामी अस्पताल पुगेका थिए। जसअन्तर्गत मासु (आइएम) मा ९२१ जनाले रेबिजविरुद्ध खोप लगाए ।
छालामा (आइडी) नौ हजार ५२४ जनाले खोप लगाए। माघ महिनामा रेबिज इमिनोग्लोबिन खोप ५४६ जनाले लगाएको तथ्याङ्क छ। यसरी आउने धेरै बिरामी काठमाडौं आसपासकै छन्।
के हो रेबिज ?
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार रेबिज एक प्रकारको भाइरल इन्फेक्सन हो । रेबिज लागेको कुकुर, बिरालो, स्याल आदिको टोकाइबाट सर्ने रोग हो ।
रेबिज रोग लागेको जनावरले टोकेको अवस्थामा र्यालको माध्यमबाट, घाउ, चोटपटक लागेको छालामा चाटेमा वा र्याल पर्न गएमा रेबिज सर्ने डा. पुनको तर्क छ ।
रेबिज लागिसकेपछि उपचार नहुने तर समयमा नै रेबिजविरुद्धको खोप लगाएर बच्न सकिने उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “रेबिज लागिसकेपछि उपचार हुँदैन । शत प्रतिशतको मृत्यु हुन्छ । तर, जनावरले टोकेका मानिसले बेलैमा रेबिजविरुद्धको खोप लगाए बाच्न सकिन्छ ।” नेपालमा रेबिजका बिरामी बढ्दो क्रममा रहेको र रेबिज लागेका मानिसको मृत्यु चुनौतीपूर्ण बनेको उहाँको भनाइ छ ।
लक्षण के हुन् ?
रेबिज भएका जनावरले टोकेमा वा रेबिज लागेको एकदेखि तीन महिनामा रेबिजका लक्षणहरू देखिने गर्दछन् । कुकुरले टोकेको सुरुवाती चरणमा लक्षण नदेखिने डा. पुन बताउनुहुन्छ ।
चिकित्सकका अनुसार मानिस अनुसार लक्षण फरक फरक देखिने गर्दछन् । सुरुवाती चरणमा हल्का ज्वरो आउने, शरीर दुख्ने, झमझमाउने गर्छ । डाढ दुख्ने, शरीरको तल्लो भाग दुख्ने, बिस्तारै हावा र पानीसँग डर लाग्ने, छटपटी हुने, आक्रामक हुने जस्ता लक्षण देखिने गर्छ । कुनै–कुनै रेबिज लागेका बिरामी अस्पतालका सामान तोडफोड गर्ने र आक्रामक हुन्छन् ।
लक्षण देखिएको पाँच–छ दिनमा मानिसको मृत्यु हुने डा. पुन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “लक्षण देखिएपछि उपचार हुँदैन । सामान्यतया लक्षण देखिएको पाँच–छ दिनमा बिरामीको मृत्यु हुन्छ ।”
खोप लगाउन सुझाव
चिकित्सकका अनुसार जनावरलाई छुँदा अथवा खुवाउँदा जनावरले घाउ नभएको छालामा चाट्दा रेबिज विरुद्धको खोप लगाउनु पर्दैन । तर, कुकुर, बिरालोलगायत अन्य जङ्गली जनावरले टोक्ने बित्तिकै रेबिजविरुद्धको खोप लगाउन चिकित्सकको सुझाव छ ।
बालबालिकाले प्रायः आमाबुवाले गाली गर्ने डरले नभन्ने गरेको चिकित्सकहरू बताउँछन् । यस्तो अवस्थामा केही दिन ढिला गरी पत्ता लाग्यो भने खोप लगाउन चिकित्सकले सुझाव दिनुभएको छ । स्वास्थ्य संस्थामा निःशुल्क पाइने रेबिजविरुद्ध खोप लगाउन चिकित्सकको सुझाव छ।
रेबिज हुनबाट बच्ने उपाय
रेबिज हुनबाट बच्नका लागि चिकित्सकले विभिन्न सुझाव दिएका छन् । शङ्कास्पद कुकुर र जङ्गली जनावरले टोकेको घाउलाई १० देखि १५ मिनेट साबुन पानीले सफा गर्न डा. पुनको सुझाव छ ।
शङ्कास्पद जनावरले टोकेमा तुरुन्त रेबिजविरुद्ध खोप लगाउन उहाँको सुझाव छ । तर घर पालुवा कुकुरलाई वर्षमा एकपटक अनिवार्य रेबिजविरुद्ध खोप लगाउनुपर्छ ।
नेपालले सन् २०३० सम्ममा रेबिजबाट हुने मृत्युदर शून्यमा झर्ने लक्ष्य लिएको छ । रेबिज हुनेको सङ्ख्या बढ्दो क्रममा रहेकाले लक्ष्यअनुसार शून्यमा झार्न सरकारको लक्ष्य चुनौतीपूर्ण रहेको उहाँकाे भनाइ छ । लक्ष्य पूरा गर्न सरोकार निकायका सबै एक जुट भए अगाडि बढ्नुपर्ने निर्देशक डा.रावलको भनाइ छ ।
२०३० सम्म कुकुरबाट हुने रेबिजलाई शून्यमा झर्ने लक्ष्य चुनौतीपूर्ण छ । जनस्तरमा रेबिजविरुद्ध खोप लगाउनुपर्छ भन्ने सोचमा परिवर्तन ल्याउन नसकेसम्म लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहेको डा. पुनको तर्क छ ।
उहाँ भन्नुहुन्छ, “सरकारसँग जति खोप भए पनि, नि:शुल्क लगाए पनि रेबिज लागेर मृत्यु हुनेको सङ्ख्या घटाउन सकेको छैन । जबसम्म सरकारले जनताकाे सोचमा परिवर्तन ल्याउन सक्दैन, तबसम्म लक्ष्य पूरा गर्न चुनौतीपूर्ण छ ।”