रेखीराम राना
पाल्पा, चैत १५ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अस्थिरता कायम रहँदासम्म मुलुकको समृद्धि सम्भव नरहेको बताउनुभएको छ । एमाले पाल्पाले दमकडामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष ओलीले एमालेलाई बलियो शक्ति बनाउन सबै कार्यकर्ता एकजुट भएर जनताको पक्षमा लाग्न आग्रह गर्नुभयो । अहिले स्थिरता चाहने र नचाहने शक्तिबीच सङ्घर्ष भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “सही नीति र नेतृत्वबाट मात्र आम नेपाली नागरिकको हितमा काम गर्न सकिन्छ । दलहरूलाई जुटाएर सरकार बनाउनुपर्ने अवस्थाले स्थिरता आउँदैन ।”
एमालेले हरेक स्थानमा ५१ प्रतिशत मत ल्याए मात्र मुलुकले निकास पाउने उहाँको भनाइ छ । जनतामा गएर जनताको मन जितेर बहुमत ल्याउने गरी काम गर्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
देश अहिले आर्थिकरुपले सङ्कटमा रहे पनि सुधार गर्नेतर्फ सरकारको ध्यान जान नसकेको उहाँले आरोप लगाउनुभयो । देशलाई आर्थिक सङ्कटबाट मुक्त गर्न स्वदेशमै उत्पादन बढाउनुपर्ने र त्यसको व्यापार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले आफूलाई अब प्रधानमन्त्री बन्ने कुनै रहर नभएको समेत उल्लेख गर्नुभयो । ‘मलाई अब प्रधानमन्त्री हुने कुनै लोभ छैन’ उहाँले भन्नुभयो, “देशको पक्षमा, जनताको पक्षमा, आम किसानको पक्षमा बोल्न कुनै डर छैन । जनताबाट आफूले पाएको प्रत्यक्ष र अप्रत्यक्ष माया र सद्भाव देश र जनताका लागि खटेर पूरा गर्ने मेरो अठोट छ ।”
कार्यक्रममा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली, पार्टीका सचिव छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य ठाकुर गैरे, खिमलाल भट्टराईलगायतले एमालेलाई मिसन ग्रासरुट अभियानले स्थापित गर्ने दाबी गर्नुभयो ।