• ११ मंसिर २०८१, मङ्गलबार

यौन विचलन

blog

मानिसले घरजम गर्न थालेदेखि नै यौन सम्पर्कले सहवासको रूप धारण गरेको मानिन्छ । सामान्य यौन सम्पर्क र सहवासमा शाब्दिक मात्र होइन तात्त्विक फरक पनि छ । यौन सम्पर्क एउटा जैविक कर्म हो र सबै जीवमा अर्को पुस्ता पैदा गर्न यौन सम्पर्क राख्ने क्षमता विकसित हुनु सृष्टिको आवश्यकतामा पर्दछ ।

त्यस्तो यौन सम्पर्कको प्रक्रिया भने जीवको जात र विकासको क्रमअनुसार फरक हुन्छ । सहवास भनेको सृष्टिको सर्वश्रेष्ठ जीव मानिसको अर्को पुस्ता जन्माउने आवश्यकता पूरा गर्ने माध्यम मात्र नभएर जोडीहरू सहअस्तित्वमा बसेर एकअर्काका गुणको समन्वयका माध्यमबाट रसपूर्ण पारिवारिक जीवन व्यतीत गर्न ऊर्जा दिने प्रक्रिया हो । त्यसैले सहवासमा दुवै पक्षका आवश्यकता र सहजताको उच्चतम कदर हुनै पर्दछ । स्वस्थ सहवासका लागि स्वस्थ यौन मनस्थिति र स्वस्थ यौन व्यवहार दुवै उत्तिकै आवश्यक रहन्छ ।

यौन सबैको अनिवार्य आवश्यकतामा पर्दछ । यौन सम्बन्ध राख्दा अङ्गालिने विधिहरू हरेक जोडीमा फरक हुन सक्छ । हरेक व्यक्तिको यौनेच्छा फरकफरक हुन्छ । स्वस्थ यौन व्यवहार भन्नाले संलग्न जोडीले आपसमा स्वीकृत विधि तथा व्यक्तिबाट यौन क्रियाकलापको आनन्द अनुभूत गरेको अवस्थालाई बुझिन्छ । स्वस्थ यौन मनस्थितिको अवस्थामा कुनै एक जनालाई आफूलाई यौन क्रियाकलाप गर्न दबाब दिएको अनुभूति हुनु हुँदैन । एकअर्कामा कुनै एक जनाले पनि आफूलाई इच्छा नहुँदा इच्छा नभएको कुरा व्यक्त गर्ने अधिकार दिँदै त्यस्तो भावनाको सम्मान गरिनु पर्दछ ।

इच्छाविरुद्ध भएको भए पति पत्नीबीचको सम्भोग पनि बलात्कार हुन्छ भन्ने नजिर विभिन्न देशका न्यायपालिकाले स्थापना गरिसकेका छन् । यौन सम्पर्कपछि पनि एकअर्काप्रति सम्मान कायम हुनु पर्दछ र कसैलाई पनि सम्मान गिरेको महसुस हुनुहुँदैन । यौनेच्छा तथा यौन क्रियाकलापका बारेमा खुलेर एकअर्कासँग कुरा गर्ने वातावरण हुनुपर्दछ । दुवैले यौन सम्पर्क अघि एकअर्काको शरीर र भावना बुझ्नु पर्दछ, यो नै स्वस्थ यौन सम्बन्ध हो ।

स्वस्थ यौन व्यवहार र स्वस्थ यौन मनस्थितिबिना कायम हुने कुनै पनि यौन क्रियाकलाप यौन विचलन मानिन्छ । मानिसमा यौन विचलन देखिनुका विभिन्न कारण हुन्छन् । यौन विचलन बलात्कार, यौन शोषण, यौन दुव्र्यवहार र पीडाजनक यौन व्यवहारका रूपमा प्रस्तुत हुन सक्छ । उदाहरणका लागि कसैले केटाकेटी उमेरमा आफूद्वारा सम्मानित व्यक्तिले यौन सम्बन्ध राखिरहेको देखेको छ भने त्यस विषयमा आफ्नै किसिमको धारणा बनाएको हुन्छ । पटकपटक त्यही कुरा अर्थात् यौन सम्पर्कको दृश्य मस्तिष्कमा आउँदा ऊ त्यसको खोजीमा तल्लीन रहन्छ । किशोर अवस्था हुँदै युवा उमेरमा आइपुग्दा उसले धेरै अगाडि मस्तिष्कमा सेट गरेको त्यही यौन व्यवहारको स्वाद खोज्न फरक किसिमको शैली अँगाल्द छ । स्मरणमा रहेको त्यो यौन व्यवहारमा उनीहरू सन्तुष्ट रहे जस्तै आफू पनि सन्तुष्ट रहने चाहनाले उसले फरकफरक व्यक्तिसँग सम्बन्ध राख्छ । बाल्यावस्थामै यस समस्यामा रहेको व्यक्तिले नैतिकताको ख्याल गर्दैन ।

यौन मनोविज्ञानको अध्ययनको क्षेत्र बृहत् र विस्तारित छ । यसले मानवीय सम्बन्धको विकासमा यौनका सकारात्मक प्रभावको मात्रै अध्ययन गर्दैन, बरु यौनका कारणबाट मानवीय सम्बन्धको विकास र संवद्र्धनमा पर्न सक्ने नकारात्मक प्रभावको पनि अध्ययन गर्दछ । यौन विचलन भन्ने शब्दले त्यस्ता अस्वाभाविक यौन मनस्थिति र भौतिक क्रियाकलापलाई इङ्गित गरेको हुन्छ, जसले पारस्परिक मानवीय सम्बन्धको विकास र संरक्षणमा प्रतिकूल प्रभाव पार्दछ ।

यस्ता सबै यौन मनस्थितिको र ती मनस्थितिले उत्पन्न गर्न सक्ने भौतिक क्रियाकलापको अध्ययन गर्न यौन मनोवैज्ञानिकले विभिन्न साधन प्रयोग गर्दछन् । यसमा मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक र व्यावहारिक पक्ष आदि महìवपूर्ण रहन्छन् ।

यौन समस्याको अध्ययन र उपचार गर्ने क्रममा मानिसका यौन व्यवहारमा देखिने विचलन सबैभन्दा हाँकपूर्ण विषयमा पर्दछ ।  कहाँसम्म यौन व्यवहारमा नयाँ प्रयोग मान्ने र कहाँदेखि त्यस्तो व्यवहारलाई विचलन मान्ने भन्ने कुराको सीमा तोक्ने काम अत्यन्त अप्ठ्यारो छ । यथार्थमा यस्तो सिमाना कोर्दा मानिसको यौन व्यवहारको प्रकृतिभन्दा त्यो व्यवहार गर्दा उसको मानसिक अवस्थाको अध्ययन बढी महत्त्वपूर्ण हुन्छ ।

सरल शब्दमा भन्दा यस्तो कर्मको रूपभन्दा त्यसको नियत हेर्नु बढी जरुरी हुन्छ । मानसिक असन्तुलनको एउटा रूप ‘बाई पोलार डिसअर्डर’ अथवा ‘म्यानिक डिप्रेसिभ साइकोसिस’ पनि हो । यस्तो अवस्थामा मानिस कहिले वातावरण र परिस्थिति अनुरूपभन्दा अति खुसी र आह्लादित भएको देखिन्छ भने कहिले ऊ स्वाभाविकभन्दा बढी निराश र दिक्दारीको अवस्थामा देखिन्छ । यस्तो अवस्थाले बारम्बार एकपछि अर्को गरेर उसको मनस्थितिलाई आक्रान्त पार्दछ तर ऊ आफ्नो यो मानसिक अवस्थामाथि आफैँ नियन्त्रण गर्न नसक्ने गरी विवश हुन्छ ।

वातावरणको स्वाभाविकतामाथि आफ्नो नियन्त्रण हराउन पुगेको यस्तो मान्छेले आफ्नो स्वाभाविक यौन जीवनमाथि पनि आफ्नो नियन्त्रण गुमाउँदछ । ‘म्यनियाक’ अवस्थाबाट गुज्रिरहेका बेला उसको यौन चाहना अनियन्त्रित उन्मादजस्तो हुन्छ भने ‘डिप्रेसिभ’ अवस्थाबाट गुज्रिरहेका बेला उसको सामान्य यौन चाहना र उत्तेजनाको अनुभूति गर्ने क्षमता पनि हराउँछ । विश्वविख्यात मनोचिकित्सक सिग्मन्ड फ्रायड इड, इगो र सुपर इगोबीचको असन्तुलन यौन विचलनको प्रमुख कारण मान्दछन् । यसको सरल व्याख्या गर्दा मानिसका असीमित यौन चाहना र स्वीकृत यौन व्यवहारबीचको फरकका कारणले आफैँभित्रबाट उत्पन्न हुने नियन्त्रणको असर अर्थात् आकाङ्क्षा र सीमाबीचको द्वन्द्वले जन्माउने डर, चिन्ता, लाज तथा हीनताबोधले उसलाई आफ्नै नजरमा गिराउँछ । जसको फलस्वरूप यौन विचलनले जन्म लिन सक्छ ।

फ्रायडकै अर्को एक सिद्धान्त ‘लिबिडो थ्योरी’ अनुसार जन्मपछि बच्चाको आनन्द प्राप्तिका सबै स्रोत यौन ऊर्जासँग गाँसिएका हुन्छन् । जसको प्रतिछायाँ मस्तिष्कमा हुन्छ । यसअनुसार बच्चा जन्मेपछि पहिलो अठार महिना उसको आनन्दको ऊर्जा प्राप्तिको केन्द्र मुखमा हुन्छ । जहाँबाट उसले दूध चुस्छ । एक वर्षदेखि तीन वर्षसम्मको उमेरमा त्यस ऊर्जाको केन्द्र मल त्याग गर्ने र रोक्ने कुरासँग सम्बद्ध रहन्छ । त्यो केन्द्र मलद्वारमा सर्दछ ।

तीन वर्षदेखि पाँच वर्षसम्म आनन्द अर्थात् उन्मादको केन्द्र पिसाब फेर्ने कुरामा उसको नियन्त्रणका कारणले जनेन्द्रियमा सर्दछ । पाँच वर्षदेखि किशोर अवस्थाबीचको सुषुप्त अवस्था बाहेक पुरुषमा यो केन्द्र त्यसपछि सधैँ लिङ्गमै रहन्छ तर स्त्रीमा यो पहिले भग्नास र पछि योनिमा सर्दछ । केही गरी बीचको सुषुप्त अर्थात् दमित अवस्थापछि किशोर अवस्थामा यो केन्द्र पुनः जागृत भएन भने यौन विचलन देखिन सक्छ ।

फ्रायडद्वारा प्रतिपादित केही सिद्धान्तपछि आलोचित भए । उनकै चेला कार्ल गुस्ताभ जङले यौन मनोविज्ञान र मनस्थिति ऊर्जाको केन्द्र आध्यात्मिक तथा अवचेतन मस्तिष्कलाई माने र अर्को सिद्धान्त प्रतिपादन गरे । जुङले ‘पर्सोना’ अर्थात् श्रुति, समाज, नैतिकता, शास्त्र र शिक्षा आदिबाट मानिसको मस्तिष्कमा बनेको उत्कृष्ट व्यक्तिको रूप तथा अवचेतन मस्तिष्कमा रहेको यथार्थ रूपबीचको द्वन्द्वपछि अवचेतन बाहिर प्रकट भयो भने यौन विचलन आउन सक्छ भने । उनका अनुसार प्रत्येक पुरुषको अवचेतनमा नारी गुण हुन्छ र प्रत्येक नारीको अवचेतनमा पुरुष गुण हुन्छ । यसलाई उनले क्रमशः ‘अनिमा’ र ‘अनिमस’ भनेका छन् ।

जोन मनीद्वारा प्रतिपादित सिद्धान्त ‘लभ म्याप थ्योरी’ अनुसार किशोर अवस्था यौन र प्रेमको मार्गचित्र निर्माणको अभ्यास हुने महìवपूर्ण अवस्था हो । यतिखेर कुनै अप्रिय यौन व्यवहार, यौन शोषण वा यौनेच्छा दमन भयो भने त्यसले पैदा गरेको कुरूप मार्गचित्र मस्तिष्क र भावनामा बस्न पुग्छ । जसका कारणले गर्दा शारीरिक चाहना र मानसिक सोचाइका बीचमा द्वन्द्व उत्पन्न हुन सक्छ । यसका 

कारणले त्यो व्यक्ति :

(१) भावनात्मक प्रेमरहित तर शारीरिक भोगको भोकले भरिएको हुन सक्छ (हाइपरफिलिया) ।

(२) यौन चाहना र यौन आकर्षण हराएर भावनात्मक प्रेम मात्र गर्ने हुन सक्छ (हाइपोफिलिया) ।

(३) शारीरिक भोक पनि भएको, भावनात्मक प्रेम पनि भएको तर एउटै व्यक्तिसँग वा एउटै सन्दर्भमा दुवैलाई एकैपटक प्रस्तुत गर्न नसक्ने हुन सक्छ (प्याराफिलिया) । यस्तो बिग्रिएको मनस्थितिका व्यक्ति नै धेरैजसो यौन विचलन, यौन अपराध वा यौन दुव्र्यवहारमा जिम्मेवार हुन्छन् ।

स्कटिस लेखक रबर्ट लुई स्टिभेन्सनद्वारा लिखित ‘डा. जेकिल एन्ड मिस्टर हाइड’ पुस्तकमा एउटै व्यक्तिमा दुईथरी व्यक्तित्व सक्रिय रहेको कुरा उल्लेख गरिएको छ । यसमा मिस्टर हाइड हत्यारा तथा परपीडक हुन्छ भने अर्को यतिसम्म सरल व्यवहारको धनी हुन्छ कि उसले आफ्नी पत्नीप्रतिको प्रेमका कारणले उनको कुमारीत्व पनि भङ्ग गर्दैन । यो प्याराफिलियाको गतिलो उदाहरण हो ।

गर्डन अलापोर्टद्वारा प्रतिपादित सिद्धान्तअनुसार मानिसको व्यक्तित्वको समायोजित विकास जन्मदेखि किशोर अवस्थासम्म विभिन्न चरणमा हुन्छ । कुनै चरण अवरुद्ध भए उसको समग्र व्यक्तित्व स्वस्थ हुँदैन र ऊ यौन विचलनको सिकार हुन सक्छ ।