• २६ चैत २०८२, बिहिबार

नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै

blog

काठमाडौँ, चैत २६ गते । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत २० हजार छात्रछात्राको आँखा परीक्षण गर्ने भएको छ ।

चालु आर्थिक वर्षभित्रै महानगरपालिकाभित्रका २० सामुदायिक विद्यालयका छात्रछात्राको आँखा परीक्षण गरी निःशुल्क चश्मा र औषधि वितरण गरिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले जानकारी दिनुभयो ।

अस्पतालको ५२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त कार्यक्रमका लागि अस्पताल र महानगरपालिकाबीच सम्झौता भइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशको आँखा उपचार सेवामा पहुँच विस्तार र गुणस्तरीय सेवा प्रदान गर्दै आएको नेपाल आँखा अस्पतालमार्फत् सामुदायिक विद्यालयका २० हजार छात्रछात्राको आँखा परीक्षणका लागि महानगरपालिकाले सम्झौता गरेको छ ।”

आगामी शैक्षिक सत्र सुरु भएसँगै सञ्चालन हुने सो कार्यक्रमका लागि महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने जनाइएको छ । गत आर्थिक बर्षमा पनि अस्पतालले १० हजार ६६६ जना विद्यार्थीको निशुल्क आँखा परीक्षण गरी चश्मा र औषधी वितरण गरेको थियो ।

उक्त अस्पतालले गत आर्थिक २०८१÷८२ मा बहिरङ्ग र आपतकालीन् सेवासहित एक लाख ९३ हजार ७९८ बिरामीको आँखा परीक्षण गरेको थियो । सो आर्थिक वर्षमा आँखा अस्पतालले  १० हजार ६७४ जनाको आँखाको शल्यक्रिया गरेको थियो ।

नेपाल आँखा अस्पतालले आफनो सिमरा, गोकर्णेश्वर, खोकना र भच्याकमा रहेको दृष्टिकेन्द्रमार्फत् स्थानीयलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले पछिल्ला बर्षमा अस्पतालमा बिरामीको सङ्ख्यामा उल्लेखनीय बृद्धि भएको जनाउँदै एकै दिन ८२ वटासम्म शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।

अस्पतालले आँखा उपचारमा अन्तर्राष्ट्रिय जगतमा प्रयोग भएका नवीनतम् प्रविधि भित्र्याएको जानकारी उहाँले दिनुभयो । उपकरण व्यवस्थापनमा अस्पतालको खर्च वृद्धि भएपनि बिरामीसँग लिइने शुल्क वृद्धि नगरिएको उहाँको भनाइ छ ।

अस्पताल सञ्चालक समितिका सचिव युद्धध्वज सापकोटाले देशले आँखा उपचार सेवामा गरेको लगानीबाट शिक्षा, समानता, गरिबी निवारणलगायतका क्षेत्रमा दिगो विकास लक्ष्य प्राप्तिमा ठूलो योगदान पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेत्र रोग विशेषज्ञ डा प्रणव श्रेष्ठलाई वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरियो । त्यस अवसरमा अस्पतालद्वारा प्रकाशित वार्षिक प्रतिवेदन पुस्तिका र क्यालेण्डर विमोचन गरियो । नेपाल आँखा अस्पतालको स्थापना विसं २०३० चैत २६ गते भएको थियो । रासस