सिराज खान
नेपालगन्ज, चैत २६ गते । नेपालगन्ज सहरको अतिनै व्यस्त व्यापारिक क्षेत्र मानिने सुर्खेत रोडको धम्बोझी र पुष्पलाल चोकको मुख्य सडकको दुबैतर्फको अतिक्रमणलाई डोजरले भत्काउने कार्य चलिरहेको छ । सो सडकको दुबैतर्फको अतिक्रमणलाई हटाएर पैदलयात्रीकालागि सहज र सुरक्षित यात्राको व्यवस्था गर्न विशेष फुटपाथ निर्माण गर्न थालिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
सुर्खेत रोड अन्तर्गत धम्बोझी चोकदेखि कारकाँदो चोकसम्मको व्यस्त सडक खण्डमा नालीको किनारबाट दुई मिटर चौडा मार्किङ गर्दै डोजरबाट अतिक्रमण हटाउन थालिएपछि व्यवसायीहरुले कडा विरोध जनाएका छन् ।
धम्बोझी चोकका अगुवा व्यवसायी मो. सरिफ बागवानले एक्कासी डोजर लगाएर नागरिकको जनधनमा क्षति पुरयाएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले उपमहानगरले सरसफाई लगायतका धेरै जिम्मेवारी पुरा गर्न नसकेको अवस्थामा नगरलाई भत्काउने काममा लागेको आरोप लगाउनुभयो ।
बागवान मात्रै नभई ठाउँ ठाउँमा व्यवसायीले अतिक्रमण भत्काउने कार्यमा अवरोध गरेका छन् । उता, नेपालगन्ज उपमहानगरपालिकाले वर्षौंदेखि अतिक्रमणमा परेको सडक किनारलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत अवैध संरचना हटाउन डोजर परिचालन गरेको नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले बताउनुभएको छ ।
नगर प्रमुख विष्टका अनुसार, अहिले खाली गरिएको ठाउँमा फुटपाथ निर्माण गरिनेछ, जससँगै हरियाली प्रवद्र्धनका लागि वृक्षारोपण पनि गरिने छ । शहरको सौन्दर्य र व्यवस्थित यातायात दुवैलाई ध्यानमा राखेर सुरु गरिएको यो अभियानले नेपालगन्जलाई आधुनिक शहरी स्वरूपतर्फ अघि बढाउने बिष्टले बताउनुभयो ।
नगर प्रमुख विष्टका अनुसार, उपमहानगरपालिकाले यसअघि नै १५ दिने सूचना जारी गरी अवैध संरचना हटाउन समय दिएको थियो । तर, अटेर गरिएपछि बाध्य भएर डोजर चलाएर संरचना हटाउन थालिएको हो ।
उपमहानगरपालिकाका अनुसार, फुटपाथ निर्माण केवल धम्बोझी–कारकाँदो खण्डमा मात्र सीमित नरही आयल निगम चोकदेखि सरोजनी अस्पताल हुँदै राँझा चोक जाने सडकमा पनि यस्तै योजना लागू गरिँदैछ । यसअघि विपी चोकदेखि धम्बोझी चोकसम्म पनि डोजर लगाएर सडक अतिक्रमण हटाईएको थियो ।
२ करोड १५ लाख रुपियाँको लागत अनुमान गरिएको यो योजनामा गाउँले कन्स्ट्रक्सन÷ पञ्चदेवी निर्माण सेवा र ए एण्ड ए कन्स्ट्रक्सन जेभीले २ करोड ७ लाख ९९ हजार २११ रुपियाँ ६६ पैसामा ठेक्का सम्झौता गरेका छन् । उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर भुपेन्द्र बोहराका अनुसार, सम्झौता अवधि असार २० गतेसम्म तोकिएको छ ।