• १० पुस २०८१, बुधबार

मन्त्रालयका नाम हेरफेर

blog

जनकपुरधाम समाचारदाता

जनकपुरधाम, चैत १५ गते । कामको प्रकृतिअनुसार मधेश प्रदेश सरकारले मन्त्रालयहरूको नाम हेरफेर गरेको छ। मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली–२०७९ को अनुसूचीमा हेरफेर गर्दै प्रदेश मन्त्रालयको नाम समायोजन तथा कार्यविभाजन गरेको हो।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत मन्त्रालयको सङ्ख्या भने ११ नै कायम रहने गरी नाम समायोजन गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव कृष्णबहादुर राउतले जानकारी दिनुभयो। उहाँले नाम समायोजन भए पनि प्रमाणीकरण हुन भने बाँकी रहेको जानकारी दिनुभयो। 

प्रदेशमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय हुनेछन्।  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा तथा समाज कल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय रहनेछन्। 

केही मन्त्रालयको नाममा सुधार तथा समायोजन मात्र गरिएको बताउँदै उहाँले केही मन्त्रालयको नाम कामको प्रकृतिअनुसार सान्दर्भिक नदेखिएकाले हेरफेर तथा समायोजन गरिएको  बताउनुभयो। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयहरूको नाम हेरफेर गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता उपसचिव विपिनकुमार ठाकुरले बताउनुभयो।