काठमाडौं, चैत १४ गते। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताउनुभएको छ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताउनुभएको हो।
“धेरै वर्षदेखि संघीय निजामती ऐन आउन सकेको थिएन, मैले पदभार ग्रहणको दिन नै संघीय निजामती ऐन ल्याउँछु भनेको थिए, अहिले सहमतिका लागि कानुन र अर्थमा गइसकेको छ”, मन्त्री मोदीले भन्नुभयो।
मन्त्री मोदीले संसदको जारी अधिवेशनमा नै ऐन टेबुल हुने बताउनुभयो। “संघीय निजामती ऐन अगाडि बढिसक्यो, संसदको यही अधिवेशनमा ऐन टेबुल गर्ने मेरो तयारी छ”, उहाँले भन्नुभयो।
मन्त्री मोदीले ऐनमा सबैका भावना र सुझावलाई समेट्ने उद्देश्यले सरोकारवाला पक्षसँग छलफल गरेको समेत बताउनुभयो। “सबैका सुझाव, सल्लाह लिएर सबैका भावना समेटेर ऐन ल्याउनुपर्छ भन्ने हिसाबले मैले सबै सरोकारवालासँग छलफल पनि गरेँ, अहिले ऐन अगाडि बढिसकेको छ”, उहाँले भन्नुभयो।
मन्त्री मोदीले सुशासन कायम गर्ने विषय नै आफ्नो मुख्य प्राथमिकताको विषय भएको समेत बताउनुभएको छ। आफू मन्त्री भएपछि कुनै पनि स्थानीय तहलाई निमित्त कार्यकारी अधिकृत दिने निर्णय नगरेको बताउँदै उहाँले भन्नुभयो, “अहिले जहाँ जहाँ निमित्त छन्, उनीहरुलाई पनि हामी हटाइरहेका छौँ।”
मन्त्री मोदीले सेवाग्राहीले प्रश्न उठाउन नपर्ने गरी सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ।