राममणि दाहाल
हेटौँडा, चैत १४ गते । बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत सञ्चारकर्मीहरुको सामूहिक दुर्घटना बीमा गरिदिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १३ जिल्लाका एक हजार ५८५ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिदिएको हो ।
मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले पत्रकारको लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत् प्रतिव्यक्ति चार लाख रुपियाँको दुर्घटना बीमा गरिएको जानकारी दिनुभयो ।
कार्कीका अनुसार यही चैत ५ गतेबाट लागू हुने गरी ६३ करोड ४० लाख रुपियाँ बराबरको बिमाङ्क रकमको बीमा गरिएको हो । बीमालेख अनुसार बीमित पत्रकारको दुर्घटनामा परी मृत्यु भएमा चार लाख रुपियाँ र दुर्घटनामा घाइते भएको भएमा एक लाख रुपियाँ बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने कार्कीले बताउनुभयो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले पत्रकारको बीमाको काम छिटो गर्न निर्देशनसँगै सामूहिक दुर्घटना बीमा कार्यान्वयन भएको हो ।
यसैगरी, मन्त्री श्रेष्ठले नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशलगायतका अन्य सञ्चार सम्बद्ध संस्थाहरुलाई समेत पत्रकाहरुको क्षमता अभिवृद्धि गर्न सहयोग गरिएको जानकारी दिनुभयो । यसअघि मन्त्री श्रेष्ठकै प्रस्तावमा जङ्गली हात्तीका आक्रमणबाट मृत्यु भएका मकवानपुरका दुईजना र सिन्धुलीका एकजना मृतकको परिवारलाई प्रति परिवार एक लाख रुपियाँ प्रदेश सरकारले राहत उपलब्ध गराएको थियो ।