• ११ मंसिर २०८१, मङ्गलबार

चलचित्र 'मिरा : स्याडो अफ अ रेन्बो'को शुभमुहुर्त

blog

काठमाडौं, चैत १३ गते । नेपाली चलचित्र 'मिरा : स्याडो अफ अ रेन्बो’को सोमबार काठमाडौँको मैतीदेवी मन्दिरमा शुभमुहुर्त गरिएको छ । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बन्न लागेको यो चलचित्रलाई अनिता पण्डितले लेखन तथा निर्देशन गर्न लाग्नुभएको हो । 

चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको प्रमुख अभिनय रहनेछ । आश्विन फिल्मसले निर्माण गरेको यस चलचित्रका लाइन प्रोड्युसर शङ्कर कार्की हुनुहुन्छ ।

मुहूर्तपछि निर्देशक पण्डितले यसको प्रमुख कथा बच्चाको अटिजम समस्या र सम्बन्धलाई एक्सप्लोर गर्न चाहने एक आमाको सङ्घर्ष रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “प्राकृतिक रूपमा नै फरक महसुस गर्ने महिलाहरूको कथासमेत यस चलचित्रमा रहेको छ । बच्चाको अटिजम समस्या र रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा यसको प्रमुख कथा हो ।" पेशाले आइटी इन्जिनियर रहेकी उहाँले आफ्नो चलचित्रप्रतिको प्रबल इच्छालाई मूर्तरूप दिने क्रममा यो चलचित्र निर्देशन गर्न लागेको बताउनुभयो ।

'मिरा : स्याडो अफ अ रेन्बो’की अभिनेत्री सुरविना कार्कीले आफूलाई प्रस्ताव गरिएको भूमिका भिन्न पाएकोले यसमा अभिनय गर्न लागेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यसमा आफ्नो ’सेक्सुवालिटि’लाई ’एक्सप्लोर’ गर्न चाहने महिलाको कथा रहेको छ । वर्तमानमा यो कुरा एकदम सामान्य हो तर विभिन्न कारणले एक महिलाले त्यसलाई बाहिर ल्याउन सकिरहेको हुँदैन । कथा त्यसमै आधारित छ ।"

अभिनेता निशान चौहानले यसको कथाले समाजमा नयाँ सन्देश दिने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “चलचित्रको कथाले मेरो मन छोयो । मलाई आफूभन्दा निकै फरक पात्रको रूपमा मैले यसमा पाएको छु । समाजमा बाहिर आउनुपर्ने यथार्थ यो चलचित्रबाट आउनेछ ।“ अर्का अभिनेता कैलाश रावलले एक महिलाले आफ्नो जीवनकालमा भोग्नुपर्ने हरेक किसिमका उतार चढावका कथाहरू मर्मस्पर्शी रहेको र त्यसमै आधारित यो चलचित्र आफ्नो लागि चुनौती र अवसर दुवै रहेको बताउनुभयो ।

यो चलचित्रको छायाङ्कन यसैसाता सुरु हुनेछ । शिवपुरी, पाटन, रानीवन लगायतका स्थानहरूमा यसको छायाङ्कन हुनेछ । चलचित्रमा एलिश कार्कीको सङ्गीत रहनेछ । डिओपी अनिल कटुवाल हुनुहुन्छ भने प्रकाश महरा टेक्निकल हेड हुनुहुन्छ । यस्तै, प्रकाश हमालले प्रोडक्शन डिजाइन गर्नुभएको हो ।