• ६ जेठ २०८१, आइतबार

महिला सहभागिता बढ्दै

blog

काठमाडौँ, चैत १४ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राजनीतिमा महिला सहभागिता र नेतृत्व सार्थक रुपमा बढ्दै गएको बताउनुभएको छ । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प)ले सोमबार राजधानीमा आयोजना गरेको “प्रतिनिधि सभाका महिला सांसदको सामूहिक सम्मान” कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिला नेतृत्वले राजनीतिक तथा सामाजिक परिवर्तनका लागि पु¥याएको योगदानको कदर हुनुपर्ने बताउनुभयो । 

अध्यक्ष तिमिल्सिनाले विगतमा महिला नेतृत्वले नेपाली राजनीतिक परिवर्तनका लागि दिएको शहादतको परिणामस्वरूप नेपाली राजनीतिमा महिला सहभागिता र नेतृत्वमा सार्थक सहभागिता बढ्दै गएको उल्लेख गर्नुभयो । 

“म सानो छँदा गाउँमा भेला हुन सूचना दिने कटवालले हरेक घरका टोपी लाउने एक जना सहभागी हुनु भन्ने खबर सुन्ने गर्थे,” उहाँले भन्नुभयो, “त्यतिबेला भेला र छलफलमा महिला वर्जित रहेछन् भन्ने कुरा पछि आएर बुझेँ । अब त्यस्ता दिन कथा भइसके । हरेक क्षेत्रमा महिला र पुरुषले समान सहभागिताको अर्थ राख्छन् ।” 

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले महिला र बालबालिकाका समस्या समाधानका लागि समेत सहभागितामै जोड दिएर अघि बढ्नुपर्ने बताउनुभयो । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला र बालबालिकाको समस्या समयअनुसार परिर्वतन हुँदै गएको बताउनुभयो । उहाँले आयोगको कार्यसम्पादनमा आफूहरूले सबै पक्षबाट सहयोग पाउने अपेक्षा राखेको उल्लेख गर्नुभयो । 

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले करिब ७५ वर्ष अघिदेखि नेपाली महिलाले राजनीतिक परिवर्तनका लागि पु¥याएको योगदानको कथा अब पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । 

पूर्वमन्त्री एवं नेतृ शशी श्रेष्ठले संसद्मा गठन गरिने विभिन्न विषयगत समितिमा आफ्नो कुरा दह्रो रुपमा राख्न महिला सांसदलाई आह्वान गर्नुभयो । सङ्कल्प नेपालका उपाध्यक्ष चन्द्रिका भट्टराईले देशको नीति निर्माण तहमा पुगेका महिला सांसदलाई आगामी दिनमा राम्रा कामका लागि हौसला प्रदान गर्न संस्थाले भेला गरेर सानो पहल गरेको बताउनुभयो ।