बनेपा समाचारदाता
काभ्रेपलाञ्चोक, चैत १४ गते । काभ्रेपलाञ्चोक जिल्लामा रहेका कुल घरपरिवार सङ्ख्यामध्ये आधा घरपरिवारले खाना पकाउनका लागि अझै पनि काठ र दाउराको प्रयोग गर्ने गरेको पाइएको छ।
जनगणना २०७८ को तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा ९१ हजार ४२८ घरपरिवार बसोबास गर्दै आएकोमा ४५ हजार २९९ घरपरिवारले खाना पकाउनका लागि काठ तथा दाउराको प्रयोग गर्ने गरेका छन्।
यस जिल्लामा रहेका कुल परिवार सङ्ख्यामध्ये ४४ हजार ८२९ घरपरिवारले खाना पकाउनका लागि एलपी ग्यास, ८९५ घरपरिवारले बायोग्यास र बाँकीले बिजुली, गुइँठा, मट्टीतेल र अन्य इन्धन प्रयोग गर्ने गरेको तथ्याङ्कले देखाएको छ।
जनगणना वर्ष २०६८ र २०७८ को तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो जनगणना वर्ष २०७८ मा जिल्लामा खाना पकाउनका लागि एलपी ग्यास प्रयोग गर्ने परिवारको सङ्ख्या बढेको तथा काठ, दाउरा र बायोग्यासको प्रयोगबाट खाना पकाउने परिवारको सङ्ख्या घटेको छ।
जनगणना २०६८ को तथ्याङ्कअनुसार जिल्लामा कुल घरपरिवारको सङ्ख्या ८० हजार ६५१ रहेकोमा ६३ हजार ९२ घरपरिवारले काठ, दाउरा, १२ हजार ९५९ परिवारले एलपी ग्यास र ३० हजार २१३ परिवारले बायोग्यासबाट खाना पकाउने गर्दथे। यसैगरी जिल्लामा रहेका कुल घरपरिवारमध्ये आधाभन्दा धेरै परिवारले घरको छानोका रूपमा जस्ता/टिन/च्यादर नै प्रयोग गर्ने गरेको पाइएको छ।
तथ्याङ्कअनुसार ५२ हजार १५९ (५७ दशमलव १ प्रतिशत) घरपरिवारले जस्ता/टिन/च्यादरको छानो भएको घर, ३७ हजार ५८ (४० दशमलव ६ प्रतिशत) घरपरिवारले सिमेन्ट ढलान, एक हजार २७७ (१ दशमलव ४ प्रतिशत) घरपरिवारले टायल/खपडा/झिँगटी, २३० घरपरिवारले खर/पराल/छ्वाली, ५०२ घर परिवारले ढुङ्गा/स्लेट र शून्य दशमलव १ प्रतिशत घरपरिवारले काठको फल्याकको छाना
प्रयोग गरेका छन्।
यसैगरी घरको बाहिरी गारोका रूपमा सिमेन्टको जोडाइ भएको घर प्रयोग गर्ने परिवारको सङ्ख्या धेरै छ। ४६ हजार ५९६ घरपरिवारले सिमेन्टको गारो जोडाइ भएको, ४१ हजार ४२७ घरपरिवारले माटोको जोडाइ भएको, दुई हजार १४८ घरपरिवारले जस्ता/टिन/च्यादर र ३७५ घरपरिवारले काठको फल्याक जोडाइ भएको घरमा बसोबास गर्दै आएका छन्।
४१ हजार ८३० घरपरिवारले माटोको जगबाट बनेको इँट्टा/ढुङ्गाा भएको घरमा बसोबास गर्छन्। यसैगरी २५ हजार ५८४ घरपरिवारले सिमेन्टको जोडाइ भएको इँट्टा/ ढुङ्गा, २१ हजार ४६१ घरपरिवारले ढलान पिलरसहितको जग भएको, एक हजार ७७९ घरपरिवारले काठ/बाँसको खम्बा गाडेको र ६७६ घरपरिवारले अन्य सामग्री प्रयोग गरेको तथ्याङ्कमा उल्लेख छ।