काठमाडौं, चैत १३ गते। मधेश केन्द्रित साना चार दलले लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन्।
मधेस केन्द्रित साना दल तराई-मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले सोमबार लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेको घोषणा गरेका हुन्।
मोर्चाले जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर ११ बुँदे साझा अवधारणा–पत्र सार्वजनिक गरेको छ। अवधारणा–पत्र सार्वजनिक गर्दै तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृशेषचन्द्र लालले मोर्चाले मधेश आन्दोलनका मुद्दामा केन्द्रित रहेर समसामयिक विषयमा मधेसको सही प्रतिनिधित्व गर्ने बताउनुभयो। उहाँले मधेसको मुद्दाको मसाललाई आफूहरुले अगाडि बढाउने बताउनुभयो। मधेस आन्दोलनलाई अगाडि बढाउन मोर्चा गठन गरेको उहाँको भनाई छ।
मोर्चाको अवधारणा–पत्रमा लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्दै विभिन्न षड्यन्त्र र कुटिल अभ्यासबाट लोकतन्त्रमाथि भइरहेको प्रहारविरुद्ध केन्द्रित रही लोकतान्त्रिक मधेसी मोर्चाले लोकतान्त्रिक शक्तिबीच एकजुटताको निमित्त पहल गर्ने भनिएको छ।
संविधानमा भएकै व्यवस्थालाई समेत अभ्यासमा पन्छाइने र बेवास्ता गर्ने काम भइरहेको आरोप लगाउँदै मोर्चाले समावेशिताको सिद्धान्तको मर्म अनुसार वर्तमान संविधानको संशोधन गरी समानुपातिक समावेशिताको अभ्यासलाई न्यायोचित र सहज बनाउनुपर्ने भनेको छ। मोर्चाले स्थानीय तहको दलबिहीन निर्वाचन तथा प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन पद्धति अपनाइनुपर्ने लगायतका विभिन्न माग राखेको छ।