• १३ वैशाख २०८१, बिहिबार

ढोरपाटन सिकार आरक्ष जहाँ पुग्छन् महँगा पर्यटक

blog

सिकारीको लागि खानासहित हिँडेका सहयोगीहरु । तस्बिर– नवीन शिशिर विक

नवीन शिशिर विक

बागलुङ, चैत्र १२ गते । नेपालको एक मात्रै सिकार पर्यटन सञ्चालन हुने क्षेत्र ढोरपाटन सिकार आरक्ष बागलुङमा यस वर्षको अन्तिम सिकार पर्यटन सुरु भएको छ । 

सिकार खेल्नको लागि विदेशी पर्यटकहरू हेलिकप्टरमार्फत सिकार ब्लकमा पुगेका हुन् । यस वर्षको दोस्रो याममा १२ नाउर र नौ झारलको सिकार हुनेछन् ।

बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीले पेशेवर विदेशी सिकारीलाई आरक्षमा सिकार गराउने भएका हुन् । यस वर्षको दोस्रो याम (फागुन–वैशाख) को लागि सात कम्पनीबाट आठ देशका सिकारीहरूले सिकार गर्न लागेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताउनुभयो ।

नेपाल वाईल्ड लाइफ एडभेन्चर, सफारी आउट्फिटरस काठमाडौंबाट युएसएका सिकारीले फागुनेमा १ नाउर र १ झारल, श्री हिमालयन वाईल्डफाईफ आउटफिटर्स काठमाडौंबाट युएसएका सिकारीले बार्सेमा १ नाउरको सिकार हुनेछन् । यस्तै, श्री ट्याक्स एन ट्रेल्स प्रा.लि. काठमाडौंबाट क्यानडाका सिकारीले घुस्तुङमा १ नाउर र १ झारलको सिकार गर्ने छन् । श्री ग्लोबल सफारिज नेपाल प्रा.लि. काठमाडौंबाट हंगेरीका सिकारीले गुस्तुङ (रुकुम पूर्व)मा १ नाउर र १ झारल तथा फ्रान्सका सिकारीले सुनदह (रुकुम पूर्व)मा १ नाउर र १ झारलको सिकार गर्ने अनुमति पाएका छन् । 

श्रीओपन नेपाल वाईल्डलाईफ सफारी एण्ड ट्रेक्स प्रा.लि. काठमाडौंबाट पोर्चुगलका सिकारीले सुनदहमा १ नाउर, श्री नेपाल ट्राभल एक्पेडिसन प्रा.लि. ललितपुरबाट पोल्याडका सिकारीले दोगाडीमा १ नाउर, रसियन सिकारीले दोगाडीमा १ नाउर र घुस्तुङमा १ झारल, स्पेनिस सिकारीले वार्सेमा १ नाउर र गुस्तुङमा १ झारल र श्री हिमालयन सिफारिस प्रा.लि. काठमाडौंबाट तीन जना अमेरिकाका सिकारीहरूले सिकार गर्ने भएका छन् । उनीहरूले दोगाडीमा १ नाउर र सेङमा १ झारल, सेङमा १ नाउर र सुनदहमा १ झारल, दोगाडीमा १ नाउर र गुस्तुङमा १ झारलको सिकार गर्ने अधिकृत कँडेलले बताउनुभयो । 

सिकार गर्न दुई जना सिकारीहरू ढोरपाटन आइपुगेको अधिकृत कँडेलले बताउनुभयो । श्रीओपन नेपाल वाईल्डलाईफ सफारी एण्ड ट्रेक्स प्रा.लि. काठमाडौँ कम्पनीबाट सुनदहमा १ वटा नाउरको सिकारको लागि पोर्चुगलका सिकारी ओलिभा डे एन्ड्राडे भिलारिन्हो जोस मिगुएल र श्री हिमालयन वाईल्डलाईफ आउटफिटर्स, स्युचाटार काठमाडौंबाट बार्सेमा १ नाउरको सिकारको लागि युएसएका चाल्र्स हेरोल्ड वेकल आरक्ष आइपुगेको बताउनुभयो । अन्य सिकारीहरू आउने क्रम जारी छ । 

विभागले अघिल्लो (फागुन) महिना सिकारका लागि पेशेवर सिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट सिलबन्दी दरभाउपत्र आव्हान गरेको थियो । यस पटक सिकारीहरूले एउटा नाउरको पाँच लाख २० हजारदेखि ७ लाख ८० हजारसम्म र झारलको ३ लाखदेखि तीन लाख १० हजार रुपियाँ राजश्व तिरेको अधिकृत कँडेलले जानकारी दिनुभयो । 

अघिल्लो (पहिलो) याम (असोज–मङ्सिर) मा एउटा नाउरको २० लाख पाँच हजार र झारलको ६ लाख रुपियाँ राजश्व बुझाइएको थियो । सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ । यस वर्षको पहिलो सिजनमा आठ नाउर र छ झारलको सिकार कोटा निर्धारण गरिए पनि सात नाउर र पाँच झारलको मात्र सिकार भएको थियो ।

सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्छन् । सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथ प्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् ।

आरक्षणमा बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई पटक सिकार खुल्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजश्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।

बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो सिकार आरक्ष फैलिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा सिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा सिकार गराउने गर्छ । वि.सं. २०४४ सालमा स्थापना भएको आरक्ष एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।