काठमाडौं, चैत १४ गते । नेपालमा ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा हुने गरेको पाइएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा मातृ मृत्यु भएका महिलामध्ये ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य विकास साझेदारहरूको संयुक्त प्रयासमा सम्पन्न अध्ययनले नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु १५१ रहेको छ ।
उक्त अध्ययनले मातृ मृत्यु भएका महिलामध्ये ३३ प्रतिशत महिलाको मृत्यु गर्भावस्थामा, ६ प्रतिशतको प्रसव अवस्थामा र ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा भएको देखाएको छ ।
मातृ मृत्यु भएका महिलामध्ये झण्डै आधा अर्थात् ४७ प्रतिशत महिलाहरूको मृत्यु लुम्बिनी र मधेश प्रदेशमा भएको छ ।
मातृ मृत्यु भएका महिलामध्ये १० प्रतिशत महिलाको मृत्यु किशोरावस्थाको उमेर १५ देखि १९ वर्षमा भएको छ ।
रक्तस्रावबाट २७ प्रतिशतको मृत्यु
उक्त अध्ययनले सुत्केरी अवस्थामा मृत्यु भएका महिलामध्ये २७ प्रतिशत महिलामा अत्यधिक रक्तस्राव, २३ प्रतिशत महिलामा रिँगटा लाग्ने÷बेहोस वा अचेत हुने तथा १२ प्रतिशत महिलामा काम्ने समस्या भएको पाइयो ।
मृत्यु भएकामध्ये अधिकांश (८३ प्रतिशत) महिला÷परिवारले मृत्यु हुनुपूर्व स्वास्थ्य सेवा लिनका लागि कुनै न कुनै स्वास्थ्य संस्थामा उपचार लिन खोजेको पाइयो । उपचार लिन नखोज्नेमध्ये झन्डै आधा (४८ प्रतिशत)ले यसलाई आवश्यक नठानेको पाइयो । मातृ मृत्युको प्रमुख कारणमा गैर प्रसूतिजन्य जटिलता पनि देखिएको छ । त्यसमा अप्रत्यक्ष कारणबाट ३२, प्रसूतिको बेलामा हुने उच्च रक्तस्राव २६ र उच्च रक्तचापजन्य समस्या १२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
स्वास्थ्य संस्थामा मर्नेको सङ्ख्या धेरै
उक्त अध्ययनमा अधिकांश महिलाको मृत्यु स्वास्थ्य संस्थामा भएको छ । यसरी मर्नेको सङ्ख्या ५७ प्रतिशत रहेको छ । त्यसैगरी, २६ प्रतिशत महिलाको मृत्यु घरमा भएको पाइएको छ । प्रसव र सुत्केरी अवस्थामा मृत्यु भएका कुल ४१२ मातृ मृत्युमध्ये ५३ प्रतिशत महिलाले सुरक्षित मातृत्व सेवा प्रोटोकल अनुसार चारपटक गर्भ जाँच गराएका थिए । त्यस्तै, प्रसूति भएको ७ देखि ४२ दिनको अवधिमा मृत्यु भएका १७३ महिलामध्ये ४५ प्रतिशत महिलाले प्रोटोकल अनुसार तीन पटक सुत्केरी जाँच गराएको प्रतिवेदनमा समावेश छ ।
प्रसूति र सुत्केरी अवधिमा मृत्यु भएका महिलामध्ये अधिकांश (७६ प्रतिशत) महिलाले स्वास्थ्य संस्थामा प्रसूति गराएका थिए । स्वास्थ्य संस्थामा प्रसूति गराएका महिलामध्ये ६२ प्रतिशत महिलाले सरकारी स्वास्थ्य संस्थामा र ३८ प्रतिशत महिलाले गैरसरकारी स्वास्थ्य संस्थामा प्रसूति गराएका थिए ।
पाँच प्रतिशत मृत्युको कारण गर्भपतन
पाँच प्रतिशत मृत्यु गर्भपतनका कारणले भएको पाइयो । गर्भावस्थामा मृत्यु भएका महिलाको मृत्युको प्रमुख कारणमा गैर प्रसूतिजन्य जटिलता (४० प्रतिशत), प्रसूतिसँग सम्बन्धित कारण (१७ प्रतिशत) र रक्तचापको समस्या (१४ प्रतिशत) रहेको छ । प्रसवको समयमा मृत्यु भएका महिलामध्ये तीन चौथाइभन्दा बढी (७८ प्रतिशत) महिलाको मृत्यु प्रसूति रक्तस्रावका कारण भएको छ ।
सुत्केरी अवस्थामा मृत्यु भएका महिलामध्ये ३१ प्रतिशत महिलाको मृत्युको कारण प्रसूति अवस्थाको रक्तस्राव र यति नै (३१ प्रतिशत) महिलाको मृत्युको कारण गैरप्रसूति जटिलता रहेको पाइयो ।
गर्भावस्थासँग सम्बन्धित मृत्यु निम्त्याउने ‘तीन ढिलाइ’ लाई हेर्दा उपयुक्त स्वास्थ्य सेवा खोज्नमा ढिलाइ (५७ प्रतिशत), उपयुक्त स्वास्थ्य संस्था पुग्न ढिलाइ (३३ प्रतिशत) र उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न ढिलाइ (४० प्रतिशत) रहेको पाइयो । यी ‘तीन ढिलाइ’मध्ये अधिकांश मृतक महिला (७४ प्रतिशत) को मृत्युमा कम्तीमा एक प्रकारको ढिलाइ भएको थियो भने १७ प्रतिशत महिलाले तीनवटै ढिलाइ भोगेका थिए ।
अध्ययन विधि
यस अध्ययनबाट प्राप्त तथ्य र प्रमाणहरूले राष्ट्रिय तथा प्रादेशिक तहमा तथ्यपरक नीति निर्माण गरी मातृ स्वास्थ्यमा सुधार ल्याउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालयबिच भएको सम्झौता बमोजिम राष्ट्रिय जनगणना, २०७८ का गणकहरूले प्रत्येक घरमा गई विगत १२ महिनामा घरपरिवारमा भएका जीवित जन्म र प्रजनन उमेर समूहका महिलाको मृत्युको तथ्याङ्क सङ्कलन गरेका थिए ।
अध्ययनको पहिलो चरणमा जनगणनामा खटिएका गणकले १५–४९ वर्ष उमेर समूहका प्रसूति भएको ७ देखि ४२ दिनको अवधिमा मृत्यु भएका महिलाको मृत्यु सूचना फाराम भरी सुपरिवेक्षकलाई बुझाएका थिए र उक्त मृत्युको सूचना तोकिएका तालिमप्राप्त स्थानीय स्वास्थ्यकर्मीलाई दिएका थिए ।
अध्ययनको दोस्रो चरणमा तालिमप्राप्त स्थानीय स्वास्थ्यकर्मीले प्रत्येक मृतक महिलाको घरपरिवारमा गई मृत्युको सूचना फाराममा रहेको जानकारीको पुनः प्रमाणीकरण र गर्भावस्थासँग सम्बन्धित मृत्युको पहिचान गरेका थिए । यसरी पहिचान गरिएको प्रत्येक गर्भावस्थासँग सम्बन्धित मृत्युको विस्तृत विवरण स्वास्थ्यकर्मीले भर्बल अटप्सी (मौखिक जाँचबुझ) फाराम मार्फत सङ्कलन गरेका थिए । भरिएका भर्बल अटप्सी फारामको आधारमा विषय विज्ञद्वारा मातृ मृत्युको कारण पत्ता लगाइएको थियो ।
२०३० सम्म ७० झार्ने लक्ष्य
दिगो विकास लक्ष्यले कुनै पनि देशमा मातृ मृत्यु अनुपात विश्वव्यापी औसतको दोब्बरभन्दा बढी नहुने गरी प्रतिलाख जीवित जन्ममा ७० भन्दा कममा घटाउने लक्ष्य राखेको छ । विश्वव्यापी लक्ष्य अनुरूप नेपालले पनि सन् २००६ मा प्रतिलाख जीवित जन्ममा २८१ रहेको मातृ मृत्यु अनुपातलाई घटाएर सन् २०२२ सम्ममा ११६, २०२५ सम्ममा ९९ र २०३० सम्ममा ७० पु¥याउने प्रतिबद्धता जनाएको छ ।