• १० मंसिर २०८१, सोमबार

चौथो एसियाली खो खो प्रतियोगितामा नेपाल दोस्रो

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत १२ गते । भारतको आसामकाे राजधानी गुवाहाटीमा हालै सम्पन्न चौथो एसियाली खो खो प्रतियोगितामा नेपालले दुवै समूहमा दोस्रो स्थान हात पारेको छ । 

दुवै समूहमा भारतले प्रतिस्पर्धात्मक खेलमा नेपाललाई पराजित गरेको हो । पुरुष प्रतियोगितामा नेपाल ३० वर्षमा पहिलो पटक दोस्रो स्थानमा पुग्न सकेको हो । सो खेलमा भारतले नेपाललाई ५० का  विरुद्ध ६७ अङ्कले पराजित गरेको थियो ।

यस्तै महिला समूहमा पनि नेपाललाई भारतले ४० का विरुद्ध ५५ अङ्कले पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित, भारत, कोरिया, इन्डोनेसिया, भुटान, बङ्गलादेश, इरान, श्रीलङ्का, मलेसियाले भाग लिएका थिए । 

दोस्रो उपाधिसहित फर्केको नेपाली टोलीलाई शुक्रबार नेपाल खो खो सङ्घका कार्यवाहक अध्यक्ष प्रदीप महर्जन र रेफ्री राजेश शाक्यलगायतले बाजागाजासहित भव्य स्वागत गर्नुभएको थियो।