राममणि दाहाल
हेटौँडा, चैत ११ गते । मिटरब्याज विरुद्धको आन्दोलनमा उत्रिएका पीडितहरू मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पुगेका छन् । मधेश प्रदेशका जिल्लाबाट आएका उनीहरू आफूले न्याय पाउनुपर्ने र मिटरब्याजीमाथि कारबाही गर्न कानुन निर्माणको माग गर्दै पैदलयात्रामा छन् ।
चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदलयात्रा सुरु गरेका उनीहरू गौशालारोड पथलैया हुँदै हेटौँडाबाट काठमाडौंतर्फ लागेका हुन् । मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको अगुवाइमा पैदलयात्रामा आएका उनीहरू मिटरब्याजीले घारबास उठाएको भन्दै सावाब्याज तिर्दासमेत जग्गासमेत कब्जामा लिने र धम्की दिने गरेको बताउँछन् ।
सङ्घर्ष समितिका संयोजक मनोज पासवानले ऋण सापटी लिएको रकम फिर्ता गर्दासमेत तमसुक बनाएर साहुले जग्गासमेत कब्जामा लिने गरेको बताउनुभयो । स्थानीय हरिनन्दन रायसँग दाइलाई विदेश पठाउनलाई ५० हजार रुपियाँ सापटी लिएकोमा एक लाख ५० हजार रुपियाँ लिएको भन्दै उहाँले सात कठ्ठा जग्गाको तमसुक बनाइएको बताउनुभयो । साथै स्थानीयलाई परेको समस्याको बारेमा मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा निवेदन दिए पनि सुनुवाइ नभएको बताउनुभयो ।
उहाँका अनुसार तराई मधेश प्रदेशमा रहेका दाइजो प्रथाका कारण विगतमा अधिकांशले छोरीको बिहेमा दाइजो दिन, मृत्यु संस्कार हुँदा कामका लागि ऋण सापटी लिने गरेका छन् ।
उहाँले गोरखापत्रलाई भन्नुभयो, ‘‘पछिल्लो समय विदेश जानका लागि ऋण सापटी लिन्छन् विदेशबाट कमाएर पठाएको पैसा सावाब्याज बापत तिरे पनि जग्गासमेत मिटर ब्याजीले कब्जा गर्ने नियतले तमसुक बनाउने गरेका छन्, कयौँ घरबारविहीन भइसकेका छन् ।’’
एक लाख रुपियाँ ऋण सापटी लिँदा तीन लाख रुपियाँसम्मको तमसुक गर्ने, एकै पटक सबै भुक्तानी गर्न नसक्ने भएपछि, पाएको सावा ब्याजको निस्सा नदिने र त्यही तमसुक अदालतमा जमिन लिलामी गर्ने गरेको आन्दोलनमा सहयोग गर्दै आउनुभएका सङ्घर्ष दाहालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘प्रवृत्ति नै गलत नियत नै सफा छैन मिटरब्याजीको त्यही नै अहिले मधेश प्रदेशका जिल्लाहरूको समस्या भएको छ । पदयात्रामा महोत्तरी, धनुषा, सर्लाही, सिराहा र सप्तरी जिल्लाका ६५ जनाको सहभागिता रहेको छ । उनीहरूले पकाउने भाँडाकुँडासहित आफूलाई बाटोमा खान आवश्यक सामलसमेत जोहो गरेर आएका छन् ।’’
हेटौँडामा बुधबार राति बास बसेका उनीहरू बिहीबार भीमफेदीमा र शुक्रबारको राति इन्द्रसरोवर गाउँपालिकाको खानीखेतमा बास बसेका थिए । खानीखेतबाट उकालो लागेका उनीहरू शनिबारको रात इन्द्रसरोवर गाउँपालिकाकै चखेलमा बस्ने भएका छन् ।
पैदलयात्रामा सहभागी दाहालले कतिपय पैदलयात्रीलाई उकालो यात्रा गर्दा समस्या भएकाले शनिबारको राति चखेलमा बसेर आइतबार बिहान काठमाडौंका लागि लाग्ने जानकारी दिनुभयो । शुक्रबार बिहान भीमफेदीबाट उकालो लाग्ने क्रममा स्थानीय प्रहरी प्रशासनले मिटरब्याजी पीडितलाई फर्काउन प्रयास गरेपनि विफल भएको थियो ।
मिटरब्याज विरुद्धको सङ्घर्ष समिति नेपालका पदाधिकारीहरूले आन्दोलन नरोकिने बताउँदै गन्तव्यतर्फ अगाडि बढेका थिए ।