दिवाकर पोख्रेल
देउखुरी, चैत ११ गते । दाङको लमही नगरपालिका वडा नं. ५ स्थित बगई सोतामा रहेको पुरानो पुल भत्कियो । हुलाकी सडक आयोजना कार्यालयमार्फत पक्की पुल बनाउने योजना पर्यो । पुल निर्माणको काम पनि सुरु भयो । तर निकै सुस्त, यही असार मसान्तभित्र काम सक्नुपर्ने जिम्मेवारीमा रहेको निर्माण कम्पनीले अहिलेसम्म एउटा पुलको खम्बासम्म हालेको छैन ।
गएको बर्खामा खोलामा आएको बाढीले निकै सास्ती दियो । आवतजावत गर्न सकिएन । डाइभर्सनसमेत बगाएको थियो ।
‘एउटा पिल्लरको काम पनि पूरा भएको छैन । कामदार नै देखिँदैन । कसरी पुल निर्माण समयभित्र हुन्छ भनेर भन्न सकिन्छ ?’ स्थानीय तथा निवर्तमान वडाअध्यक्ष विमबहादुर केसीले भन्नुभयो ‘ठेकेदारले काम नगर्ने, आयोजनाले म्याद थपिरहने । यसरी कामलाई बाधा प¥यो ।’
काम सुरु भएको १४ महिना पूरा हुँदा पनि पुलको एउटा खम्बा उठाउने काम सम्पन्न हुन सकेको छैन । नेपाल–भारत दुई देश जोड्ने सडकखण्ड एक वर्ष दुई महिना अघिबाट पुल निर्माणको काम सुरु भएको थियो ।
‘२० मिटर लम्बाई मात्रै छ । यही काम गर्न पनि बर्सौँ लाग्ने देखियो’, केसीले भन्नुभयो ‘अहिले त के छ र ? डाइभर्सनबाट आवतजावत चलिरहेकै छ । तर, वर्षामा के हुन्छ ? यात्रा गर्नेलाई मात्रै थाहा हुन्छ।’
पुल निर्माणले गति नलिएपछि स्थानीय तहका जनप्रतिनिधिले पटक पटक खबरदारी गरे पनि सुनुवाइ हन नसकेको स्थानीय जनप्रतिनिधिले बताउनुभयो । लमही नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष ओमप्रसाद सुवेदीले हुलाकी सडक आयोजना कार्यालयमा पटक पटक काम सुरु गर्न दबाब दिँदै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो पुलको काम समयमै सक्न भनिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘आयोजनाले पनि निर्माण कम्पनीलाई दबाब दिँदै आएको छ ।’
हुलाकी सडक आयोजना कार्यालयमार्फत तीन करोडको लागतमा गाल्वा मेनका जेभीले पुल निर्माणको ठेक्का पाएको थियो । तर सुरुदेखि नै काममा ढिलासुस्ती गरेका कारण पुल निर्माणमा ढिलाइ भएको हो । आउँदो असार महिनाभित्र काम सक्नुपर्ने भए पनि निर्माण कम्पनीको यही सुस्त गतिले काम सम्पन्न हुने देखिँदैन ।
पुल निर्माण कम्पनीलाई छिटो काम सुरु गर्न र समयभित्र सक्न निर्देशन दिएको हुलाकी सडक आयोजना कार्यालयका इन्जिनियर सुनिल गुप्ताले जानकारी दिनुभयो ।
‘दश दिनभित्र एउटा खम्बाको काम सक्छु भनेका छन् । आलटाल गर्न कुनै छुट छैन’, उहाँले भन्नुभयो, ‘असारभित्र सक्ने लक्ष्य दिइएको हो ।’
निर्माण कम्पनीका प्रतिनिधि सुनिलकुमार न्यौपानेले असार महिनाभित्र काम सम्पन्न गर्नेगरी अघि बढेको बताउनुभयो ।