• १३ मंसिर २०८१, बिहिबार

दिनहुँ घस्रिएर विद्यालय

blog

सलिम मिया

बिजुवार, चैत १० गते । प्युठान नगरपालिका–५, पूर्णागाउँकी मीना खत्री घस्रिएर नियमित विद्यालय पुग्नुहुन्छ । १४ वर्षीया मीनाको दुवै खुट्टाको नसा खुम्चेकाले उठेर हिँड्न सक्नुहुन्न । उहाँले खुट्टाको पैतालाले टेक्न सक्नुहुन्न, त्यसैले हिँड्नु परेमा घुँडाले टेकेर घिस्रनुपर्छ ।

उहाँ आफ्नो अशक्त ज्यानको ख्यालै नगरी एक हातले कापीकिताब च्यापेर घस्रिँदै विद्यालय पुग्नुहुन्छ । गाउँकै पूर्णागाउँ प्राथमिक विद्यालयमा कक्षा–५, अध्ययनरत मीनाले भन्नुभयो, “सानोमा दाइले बोकेर स्कुल लैजानुहुन्थ्यो, अहिले आफैँ घस्रिएर आउजाउ गर्छु ।” 

“घस्रिएर हिँड्दा गोडा दुख्छ, आधा शरीर फोहोर हुन्छ, सहने गरेकी छु,” मीनाले भन्नुभयो, “नौ महिनाको हुँदा आगोमा परेर खु्ट्टा गुमाएको कुरा आमाबाट सुनेको हुँ ।” 

उहाँलाई स्कुल पुग्न दुई घण्टा लाग्छ । आफू अपाङ्ग भएकाले विद्यालयका साथीहरूले राम्रो व्यवहार नगरेकामा उहाँको चित्त दुखाइ छ । अपाङ्ग भए पनि पढाइलाई निरन्तर अगाडि बढाउने र ठूलो मान्छे बन्ने सपना बोकेकी मीनाको अहिले जिल्ला स्तरीय परीक्षा चलेको छ ।

यति बेला भने मीनाले आफ्नो विद्यालयभन्दा दुई घण्टा टाढाको जुम्रीकाँडा ठूलो गाउँको सिद्ध मावि केन्द्रमा पुगेर परीक्षा दिइरहनुभएको छ । पूर्णगाउँ प्राविका प्रधानाध्यापक हेमराज गौतमले मीनालाई विद्यालयले अपाङ्ग छात्रवृत्ति प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मीनाको अवस्था देख्दा निकै दया लाग्छ । घरको आर्थिक अवस्था निकै कमजोर रहेकाले मीनालाई हातले गुडाउन मिल्ने ह्विल चेयर भएमा धेरै राहत हुने थियो ।” 

यति बेला मीनालाई घरदेखि विद्यालय र विद्यालयबाट घर आउजाउ गराउने सहयोगीको रूपमा आमा बुबा हुनुहुन्छ । तर घर र विद्यालय परिसरमा ओहोरदोहोर गर्न ह्विल चेयरको अभाव देखिएको उहाँले बताउनुभयो ।