बेनी समाचारदाता
म्याग्दी (बेनी), चैत १० गते । बेनी अस्पताल भवनका ठेकेदार दुई वर्षपछि काममा फर्र्किएका छन्। भवन निर्माण योजनाबीचमै अलपत्र पारेर बाहिरिएका निर्माण व्यवसायीले सरकारी निकाय र सरोकारवालाको चौतर्फी दबाबपछि पुनः कार्यस्थलमा फर्किएर काम थालेका हुन्।
पछिल्ला केही वर्षयता ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण अस्पताल भवन अलपत्र परेको थियो। तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ पुस २१ गते तीन वर्षभित्रमा निर्माण सक्ने गरी महादेव खिम्ती, गल्वा रफिना जेभीसँग १८ करोड ८४ लाख आठ हजार ८९ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो। १५ शय्याका अस्पताललाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गरेसँगै चारतले तीनवटा भवन निर्माण थालिएको थियो। हाल सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत योजनाको सुपरिवेक्षण र नियमन गरिँदै आएको छ। भवन निर्माण गर्न ठेकेदारलाई पटक–पटक पत्रमार्फत ताकेता गर्दा पनि अटेरी गर्दै आएको भनाइ सो कार्यालयको छ। भवनको करिब ७० प्रतिशत भौतिक प्रगति भएको इन्जिनियरविना चाकतूले बताउनुभयो।
उहाँले भन्नुभयो, “अहिलेसम्म तीन पटक म्याद थप भएको छ। पछिल्लो पटक थपिएको म्यादको अवधि आगामी असार मसान्तमा सकिँदै छ। भवन निर्माण गर्ने प्रतिबद्धता जनाएसँगै कार्यस्थलमा मजदुर परिचालन गरेको छ।” आशा छ, अब भवन निर्माणको बाँकी काम सम्पन्न हुने उहाँले सुनाउनुभयो।
भवन निर्माणमा संलग्न महादेव खिम्तीका सञ्चालक रवि सिंह, गल्वा कन्स्ट्रक्सनका सञ्चालक नरहरि थपलिया र रफिना कन्स्ट्रक्सनका सञ्चालक रवीन जोशीले पहुँचका आधारमा पटक–पटक म्याद थप्दै आउनुभएको छ।
सो भवन निर्माण योजनामा ठेकेदारबीच आपसी लेनदेनको समेत विवाद देखिएको छ। यतिबेला भने आपसी विवाद मिलाएर काममा फर्किएको निर्माण व्यवसायीको भनाइ छ।