राममणि दाहाल
हेटौँडा, चैत १० गते । कुनै समय हेयका दृष्टिले हेरिने र गरिबले मात्र खाने भनिएको कोदो पछिल्लो समय उपभोक्ताको खोजी र रोजाइको खाद्यान्न बन्दै गएको छ । कोदोमा हुने पोषक तत्व र लाभबारे उपभोक्तामा जानकारी बढ्दै जाँदा कोदो सहर र धनीमानीका भान्छामा पनि पाक्न थालेको छ ।
मकवानपुरगढी गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन, प्रशोधन र बिक्री वितरणमा स्थानीय किसानलाई प्रोत्साहन गर्ने रणनीतिसहित काम गर्दै आएको छ ।
गाउँपालिकाका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीका अनुसार कालीखोला ब्रान्डमा मकवानपुरगढी–४, कालीखोलास्थित अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्था लिमिटेडमार्फत बजारीकरण गर्ने गरी गाउँपालिकाभित्र उत्पादित कोदोको दाना र पीठोको लेबलिङ र प्याकेजिङको तयारी अन्तिम चरण पुगेको छ ।
कालीखोला कोदो उत्पादनमा प्रख्यात रहेकाले कालीखोलाकै नाममा कोदो दाना र पिठो ब्रान्डिङ गर्न लागेको उहाँले जानकारी दिनुभयो । उहाँले प्याकेजिङका लागि बाक्लो कागजको डिब्बा, प्लास्टिक कोटेड प्याकेट, कपडाको सुर्के थैली, प्लास्टिकको प्याकेट वा प्लास्टिकमा साधारण स्टिकर राख्नेलगायतका विकल्पबारे छलफल भएको बताउनुभयो । ब्रान्डिङ, लेबलिङ र प्याकेजिङको कार्यमा स्टोरी साइकल नामक संस्थाले प्राविधिक सहयोग गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष घोषणा गरिएको छ । सोहीअनुसार नेपालमा पनि ‘खाद्य, पोषण सुरक्षा र वातावरण तथा ग्रामीण रूपान्तरणका लागि कोदोजन्य बाली’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३ मनाइँदै छ । यही कार्यक्रमअनुसार मकवानपुरगढी गाउँपालिकाको सहजीकरणमा सहकारीले कालीखोला ब्रान्डको कोदो र कोदोको पिठो बजारमा ल्याउन लागेको हो ।
कोदोको पिठोको गुणस्तर पनि परीक्षण गरेर अनुज्ञापत्र लिनासाथ उत्पादन बजारमा लैजाने तयारी छ । सहकारीले कोदोको पिठो एक केजी, दुई केजी र पाँच केजी तौलमा र कोदोको दाना पाँच केजी र १० केजी तौलमा प्याकिङ गर्ने भएको छ । यो गाउँपालिकामा मात्र तीन सय मेट्रिक टन कोदो उत्पादन हुने गरेको छ । यसमध्ये केही किसान र स्थानीय रूपमै उपभोग हुन्छ । स्थानीय जातको कोदो लगाइँदै आएको यो गाउँपालिकाको वडा नं. ४ मा मात्र वार्षिक ४० टन कोदो उत्पादन हुँदै आएको छ ।
सहकारी संस्थासँग हाल पाँच टन कोदो मौज्दात रहेको र वार्षिक २० टनसम्म कोदो र कोदोको पिठो बिक्री गर्ने योजना बनाएको छ । सहकारी संस्थाले किसानबाट प्रतिकेजी ४५ रुपियाँमा कोदो खरिद गर्दै आएको छ । किसानलाई कृषि उत्पादनमा प्रोत्साहन गर्दै आएको यो गाउँपालिकाले स्थानीय उत्पादन कोदो खरिदमा किसान र सहकारी संस्थालाई प्रतिकेजी दुई/दुई रुपियाँ गरी चार रुपियाँ अनुदान दिँदै आएको छ ।
कोदोको पिठो खुला बिक्री गर्दा प्रतिकेजी ७५ रुपियाँमा बिक्री हुँदै आएको र प्याकिङ गर्दा केही लागत बढ्ने बताउँदै चौधरीले सफा गरिएको कोदो प्रतिकेजी ६५ रुपियाँ र सफा नगरेको कोदो प्रतिकेजी ५५ रुपियाँमा बिक्री गर्दै आएको जानकारी दिनुभयो । कोदो र यसको परिकार प्रवद्र्धनका लागि या गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा साताको एक दिन कोदोको सेल, फुलौरा, हलुवा, बिस्कुट, नमकिनलगायतका परिकार बनाएर खुवाउने गरिएको छ । यो गाउँपालिकाभित्र २५० हेक्टर क्षेत्रफलमा कोदो उत्पादन हुन्छ ।