• ११ मंसिर २०८१, मङ्गलबार

क्षयरोगबाट मृत्यु हुनेको सङ्ख्या घटेन

blog

धनगढीमा बिहीबार आयोजना गरेको कार्यक्रम । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह 

धनगढी, चैत ९ गते । सुदूरपश्चिममा गत सात महिनामा क्षयरोगबाट ६१ जनाको मृत्यु भएको छ । तीमध्ये कैलालीमा २३ जनाको सो रोगबाट मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, कैलालीले विश्व क्षयरोगका अवसरमा धनगढीमा बिहीबार आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, डोटीका क्षय तथा कुष्ठरोग अधिकृत मनोज ओझाले सो जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा ती क्षयरोगीको मृत्यु भएको हो ।

सुदूरपश्चिममा चैतदेखि साउनसम्म क्षयरोगी बढ्नेगरेका छन् त्यसैले असारसम्म मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने अनुमान उहाँको छ । जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार भारतमा काम गर्न गएकाहरू चैते दशै मनाउन घर फर्किने गरेकोले चैतदेखि असारसम्म क्षयरोगीको सङ्ख्या बढ्ने गरेको छ । 

नेपालको तुलनामा भारतमा क्षयरोगीको सङ्ख्या बढी रहेको छ तर प्रतिशतका हिसाबले नेपालमा क्षयरोग बढी छ । नेपालको तीन करोड जनसङ्ख्यामा ४५ प्रतिशतमा सङ्क्रमण भने भारतको झण्डै डेढ अर्ब जनसङ्ख्यामा आठ प्रतिशतमा क्षयरोग सङ्क्रमण रहेको मानिन्छ । 

सुदूरपश्चिममा २०७७–७८ मा १०४ र २०७८–८९ मा ११९ जनाको मृत्यु भएको थियो । ती दुई आर्थिक वर्षमा कैलालीमा क्रमशः ४५ र ५६ जनाको मृत्यु भएको थियो । 

सुदूरपश्चिममा यो आर्थिक वर्षको सात महिनामा एक हजार आठ सय क्षयरोगी भेटिएका छन् । त्यसअघि २०७७–७८ मा दुई हजार आठ सय  र २०७८–८९ मा दुई हजार ४३४ जना क्षयरोगी भेटिएका थिए । 

क्षयरोग पत्ता लागेका कारण २४ मार्चलाई संसारभर क्षयरोग दिवस मान्ने गरिन्छ । नेपालमा पनि हो, हामी क्षयरोग अन्त्य गर्छौँ भन्दै क्षयरोग दिवस मनाइदै छ ।