अविनाश चौधरी
धनगढी, चैत ९ गते । कैलालीको कैलारी गाउँपालिका –७ स्थित भारतमा आश्रित हौसलपुर गाउँका बासिन्दाका लागि मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । मोहना नदी पारी रहेको विकट सो गाउँवासीको ओहोरदोहोरमा सहजताका लागि १२० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण गरिएपछि गाउँवासीको पुलमा हिँड्ने सपना पूरा भएको हो ।
नदीमा पुल नहुँदा हौसलपुर गाउँवासीले कष्टकर जीवन बिताउँदै आएका थिए । उनीहरूले झण्डै चार दशकदेखि डुङ्गामार्फत ओहोरदोहोर गर्दैआएका थिए । वर्षौँदेखिको उनीहरूको दुःखको दिन पुल निर्माणसँगै हटेको छ । झोलुङ्गे पुल बनेपछि खुसी व्यक्त गर्नुहुँदै हौसलपुरका भलमन्सा टीकाराम चौधरीले ओहोरदोहोर गर्न सजिलो भएको बताउनुभयो । ‘अब डुङ्गा चलाउनु पर्ने दुःख हुँदैन’ उहाँले भन्नुभयो । वर्षायाममा नदीमा बाढी आएपछि हौसलपुरवासीले दुःख खेप्दैआएका थिए ।
बाटोघाटो समस्याकै कारण उनीहरू भारतमा निर्भर छन् । नेपाल–भारत सीमा नजिक रहेको हौसलपुरका सबै बालबालिका भारतीय विद्यालयमा अध्ययनरत छन् । सो गाउँमा भारतीय मुद्रा प्रचलनमा छ । झोलुङ्गे पुल बनेपछि अब उनीहरू भारतमै निर्भर रहिरहने बाध्यता भने हटेको छ ।
स्थानीय सरकारले माग गरेको आधारमा सङ्घीय सरकारको ७५ लाख रुपियाँ लागतमा ठेक्कामार्फत झोलुङ्गे पुल निर्माण गरेको छ । झोलुङ्गे पुल बनेपछि ओहोरदोहोरमा सहज भएको कैलारी गाउँपालिका –७ का वडा अध्यक्ष दीपेन्द्रबहादुर बमले बताउनुभयो । ‘पुल बनेपछि एक सातादेखि ओहोरदोहोर भइरहेको छ’ उहाँले भन्नुभयो, ‘अब धेरै सहज भयो ।’
२०७८ मङ्सिर १८ बाट पुल निर्माणको कार्य अगाडि बढाइएको थियो । गत असारमै सम्पन्न गरिसक्नु पर्ने भए पनि निर्माण कार्यमा ढिलाइ भएको थियो । निर्माणकै क्रममा गत कात्तिक मसान्ततिर निर्माणाधीन पुल टुटेपछि अझै ढिलाइ भएको वडा ७ का पूर्व वडा अध्यक्ष कमलप्रसाद चौधरीले बताउनुभयो । म्याद थप गरेर सो पुलको निर्माण कार्य चैतमा सम्पन्न गरिएको छ ।
झोलुङ्गे पुल निर्माणले हौसलपुर गाउँवासीसहित भुइयाँफाटा, रामपुर, रतनपुर, तिघरी, बसन्तालगायतका गाउँवासीलाई पनि ओहोरदोहोर गर्न सहज हुने पूर्व वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
विगतमा राज्यबाट उपेक्षित हौसलपुरवासीले झोलुङ्गे पुल पाएसँगै उनीहरूको केही सपना पूरा भएको छ । हौसलपुरवासीले नदीमा पुल र गाउँमा बत्ती हुनुपर्ने सपना देखेका थिएँ । २०७७ बाट नै सो गाउँमा बिजुली बलिरहेको छ ।