काठमाडौं, चैत ९ गते । प्रधान सेनापति प्रभुराम शर्माले अवकाश प्राप्त सैनिकहरूलाई सेवा अवधिमा आर्जित अनुभव र क्षमता यही माटोमा आत्मसम्मानका साथ रोपी समाजमा सबल र समृद्ध बनेर स्थापित हुन आग्रह गर्नुभएको छ ।
पोखरास्थित फूलबारी ब्यारेकमा बिहीबार भएको भूतपूर्व सैनिक सम्मेलन-२०७९ को उद्घाटन गर्दै प्रधान सेनापति शर्माले यस्तो बताउनुभएको हो । सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बुङ्लुङ्ग, म्याग्दी र मुस्ताङ गरी सात जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागिता रहेको थियो ।
प्रधान सेनापति शर्माले हाम्रा असीमित आकाङ्क्षा तथा आवश्यकतालाई केही हदसम्म भएपनि सम्बोधन गर्न हाम्रै रगत पसिनाबाट आर्जित कल्याणकारी कोषको पारदर्शी रूपमा सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियत कर्जा मार्फत सम्पूर्ण हिताधिकारीलाई सुविधा प्रदान र कल्याणकारी सेवा विस्तारमा कटिबद्ध रहेको पनि बताउनुभयो ।
सोही क्रममा उहाँले वीरगति प्राप्त सकलदर्जाका सन्तति र एकल महिलालाई सदैव महत्त्वका साथ हेरिँदै आएको र यसको निरन्तरता स्वरूप देशका विभिन्न ६ स्थानमा एकल महिला स्वरोजगार केन्द्रहरू सञ्चालन भइरहेको एवम वीरगति प्राप्त सकलदर्जाका सन्ततिलाई नेपाली सेनाको भर्नामा प्राथमिकताका लागि प्रयत्नशील रहेको बताउनुभयो ।
सम्मेलनमा स्याङ्जा निवासी ९२ वर्षीय सिपाही गुमानसिंह कार्की र स्वर्गीय सिपाही मनिराज थापा क्षेत्रीको श्रीमती बाग्लुङ्ग निवासी ८९ वर्षकी एकल महिला श्रीमती मसिकला थापा क्षेत्रीलाई सम्मान गरिएको थियो ।
समारोहमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरू, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, रथी पोखरा महानगरपालिकाका प्रमुखलगायतको सहभागिता रहेको थियो ।
यसै क्रममा शुक्रबार तनहुँको खैरेनीटार ब्यारेकमा भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने सेनाले जनाएको छ ।