• ६ वैशाख २०८१, बिहिबार

कमजोर लाओसविरुद्ध अनुभवी अनन्त र नवयुगको गोल

blog

गोल गरेपछि खुसी मनाउँदै नेपालका खेलाडी । तस्बिर : विकास द्वारे

काठमाडौं, चैत ८ गते । नेपाली फुटबल पछिल्लो समय त्यति गर्व गर्न लायक छैन । राष्ट्रिय टोलीका रोजाईका दर्जन खेलाडी विदेश पलायन भएपछि फुटबलमा निराशा छाएको अवस्था छ । 

त्यसमाथि रोजाईका स्ट्राइकरद्वय विमल घर्तीमगर र अन्जन विष्ट घाइते भएपछि नेपालको अग्रपंक्ति कमजोर बन्नु स्वभाविक थियो । अझ एन्फा पदाधिकारीको लडाई र झगडाले फुटबलको ब्यवस्थापन विर्षन लायक छ । 


नेपाली फुटबल टोली अहिले अधिकांश नयाँ (युवा) खेलाडीको भरमा छ । युवा खेलाडीको प्रशिक्षकको जिम्मेवारी पनि इटालीका नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले सम्हालेको अवस्था छ । 

यही परिदृष्यमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको नेपाल, लाओस र भुटान सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा सुखद सुरुवात गरेको छ । दशरथ रंगशालामा बुधबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० गोलले हरायो । 

लाओस र भुटान नेपालका लागि तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी हुन् । लाओसविरुद्ध नेपालले बल पोसेसन राख्न नसके पनि अनुभवी दुई खेलाडी अनन्त तामाङ र नवयुग श्रेष्ठको गोलमा जित निकाल्यो ।


अनन्तले ३०औं मिनेटमा नविन लामाको कर्नर पासमा अनमार्क पोस्ट छेउबाट गोल गर्नुभएको थियो । अनन्तको यो नेपालका लागि अन्तर्राष्ट्रिय तेस्रो गोल हो । 

त्यसपछि ५६औं मिनेटमा नवयुगको करिव ३५ यार्ड लामो सोलो भलि प्रहारले सोझै जाली चुमेको थियो । नवयुगको यो अन्तर्राष्ट्रिय आठौं गोल हो । नेपालको तुलनामा कमजोर देखिएको लाओसले दोस्रो हाफमा दुईवटा फितलो गोलको अवसर बनाएको थियो ।

लाओसको प्रयासमा नेपालका अनुभवी गोलरक्षक किरण चेम्जोङ बाधक बन्नुभएको थियो । नेपालको खेल रक्षक अनन्त, रोहित चन्द, नवयुग र गोलरक्षक किरणको वरिपरि घुमेको थियो । 

दोस्रो हाफमै लाओसका बोउनपाचन बोउनकोङको पोस्ट छेउको प्रहारलाई रक्षक अनन्त तामाङले गोललाइनबाट बचाउनुभयो । राष्ट्रिय टोलीका ४५ खेलाडी खेल मिलेमतोका कारण प्रतिबन्धमा परेकोले लाओस टोली पनि पूर्ण युवा खेलाडीको भरमा उत्रिएको थियो ।

लाओसविरुद्ध नेपालका चार खेलाडीले डेब्यु गरेका छन् । डेब्यु गर्नेमा सनिस श्रेष्ठ सुमित श्रेष्ठ, दीपकराज सिंह ठकुरी र मणिकुमार लामा हुनुहुन्छ । पहिलो जितसँगै नेपाल फाइनल नजिक पुगेको छ ।

पहिलो खेल जित्यौं, त्यसैमा खुशी छौं : प्रशिक्षक एनेस 

खेलपछि नेपालका प्रशिक्षक एनेसले टोलीका धेरै नयाँ खेलाडी भएकोले टिम सेट नभईसकेको बताउनुभयो । ‘‘पहिलो खेल जित्यौं, त्यसैमा खुशी छौं । हामीले अझै मिहेनत गर्नु पर्दछ । नयाँ खेलाडीले विस्तारै लय लिनेमा विश्वस्थ छु । हामीले राम्रो सुरुवात गरेका छौं । त्योनै खुशीको कुरा हो । अझै लामो यात्रामा जानुछ । अबको ध्यान भुटानलाई हराउन केन्द्रित हुनेछौं,’’ एनेसले भन्नुभयो ।

२३ खेलाडी लिएर तीन दिनको तयारीले यक्तिको खेल्नु ठिकै रहेको भन्दै एनेसले भविष्यमा धेरै खेलाडीबाट राम्रो टिम बनाउने सोचेको पनि बताउनुभयो । 

रक्षक अनन्तले खेलाडीबीच तालमेल नमिल्दा सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताउनुभयो । ‘‘हामीले लाओसले जत्तिको बल राखेर खेल्न सकेनौं । टोलीका पूराना खेलाडी विदेश जाँदा गाह्रो भयो । धेरै नयाँ खेलाडीले मौका पाउनुभएको छ । विस्तारै सुधार हुनेछ,’’ अनन्तले भन्नुभयो ।

उहाँले आफु विदेश जाने सोचमा नरहेको समेत बताउनुभयो । म्यान अफ दि म्याच बन्नुभएका अनन्तले २५० अमेरिकी डलर पुरस्कार पाउनुभयो । 


यस्तै लाओसका प्रशिक्षक माइकल वेसले खेलाडीले राम्रो खेलेपनि पाएको मौकामा गोल नहुनु दुर्भाग्य भएको बताउनुभयो । ‘‘नेपालले हामीले भन्दा राम्रो खेल्यो । गोलरक्षक सावधान नहुँदा दोस्रो गोल खायौं । जसले गर्दा खेलमा फर्कन गाह्रो भयो । भुटानविरुद्ध राम्रो खेल्दै फाइनलमा पुग्ने प्रयास गर्नेछौं,’’ वेसले भन्नुभयो । 

चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू सिङ्गल राउन्ड रोबिन लिगको आधारमा हुनेछ । लिगको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

प्रतियोगितामा चैत ११ गते भुटान र लाओस तथा चैत १४ गते नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रो हुनेले ३ हजार डलर पुरस्कार पाउनेछन् ।