• १६ चैत २०८०, शुक्रबार

धनगढीका व्यापारी भन्छन्, ‘सटरको भाडा तिर्न धौधौ भयो’

blog

संरचना भत्काएर पुनरनिर्माण गरिएपछिको धनगढी बजार । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, चैत ८ गते । धनगढीका व्यापारीहरूले सटर भाडा तिर्न धौधौ भएको बताएका छन् । पछिल्लो समय व्यापार, व्यवसाय चौपट भएपछि उहाँहरूलाई सटर भाडा तिर्न मुस्किल भएको हो । 

कोरोना महामारीले थला परेको व्यापार फष्टाउन नपाउँदै सडक विस्तारका लागि धनगढी बजारमा तोडफोड भएपछि व्यापार, व्यवसाय न्यून भएको उनीहरूको भनाइ छ । ‘घर तोडफोड भएपछि चार महिना त सामान थन्क्याएर बस्नु प¥यो’, कपडा व्यापारी मुन्नालाल गुप्ताले भन्नुभयो, ‘व्यापार केही छैन । महिनाको भाडा तिर्न नै मुस्किल भइरहेको छ ।’ 

धनगढीमा ३५ वर्षदेखि व्यापार गर्दैआएको आफूले पहिलो पटक यस्तो सङ्कट झेलिरहेको उहाँले बताउनुभयो । ‘पहिले बाहिरै कपडा राखेर व्यापार गर्दा राम्रो कमाई हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘अहिले भाडा खर्च उठाउन धौधौ छ ।’ 

धनगढीको मुख्य सडक फराकिलो बनाउन धनगढी उपमहानगरपालिकाले सडक अधिकार क्षेत्रभित्र परेका संरचना गत दीपावलीपछि हटाउने कार्य थालेको थियो । उपमहानगरपालिकाको डोजर चलेपछि कतिपय व्यवसायी विस्थापित भएका छन् । यसैगरी, केही घरधनी घरबारविहीन हुन पुगेका छन् । 

कोरोनापछि अलि–अलि व्यापार व्यवसाय बढे पनि सटर तोडफोड भएपछि फेरि व्यापार घटेको जुत्ताचप्पल व्यवसायी शरण सिंहको भनाइ छ । मासिक २० हजार रुपियाँ सटर भाडा तिर्दैआएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘भाडा चर्को छ, तर व्यापार छैन । अहिले हामी घाटामा छौँ ।’ 

व्यापार नभएका कारण सामान थप्न पनि नसकेको उहाँले बताउनुभयो । ‘बैङ्कबाट ऋण लिएर सामान थपौँ भने चर्को व्याज कसरी तिर्ने समस्या छ’ उहाँले भन्नुभयो, ‘अहिले त बैङ्कले व्यवसायीलाई ऋण दिन मानेका छैनन् ।’ 

धनगढी बजारको मुख्य सडक निर्माण हुँदासम्म आफूहरू व्यापार, व्यवसायबाटै पलायन हुने अवस्था आउने त हैन, भन्ने चिन्ताले व्यवसायीलाई पिरोलेको छ । सडक बन्न अझै धेरै वर्ष लाग्ने भएकाले तबसम्म व्यापार नै धराशायी हुने उहाँहरूको भनाइ छ । 

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले अहिले धनगढीको व्यापार ५० प्रतिशत घटेको बताउनुभयो ।

पहिले घरधनीले सटरको मासिक १० हजार रुपियाँ भाडा लिदैंआएकोमा अहिले दुई हजार घटाएर आठ हजार गर्दा पनि तिर्न मुस्किल भइरहेको किराना व्यवसायी देवबहादुर साउँदले बताउनुभयो । ‘कोरोनाभन्दा अगाडि व्यापार राम्रै थियो’, उहाँले भन्नुभयो, ‘अहिले चौपट भएको छ ।’ 

संरचना फुटाइएपछि व्यापारीहरू केही महिना सामान थन्क्याएर बस्न बाध्य भएका थिए । मर्मत सम्भार गरेर कतिपयले पसल राखी सके पनि धुलोका कारण व्यापार शून्यजस्तै भएको उहाँहरूको गुनासो छ । यस्तै, कतिपय व्यवसायीले अझै पनि सामान राख्न नसकेको बताउनुभएको छ । विभिन्न ठाउँमा अझै मर्मतको काम जारी रहेको छ । 

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले अहिले धनगढीको व्यापार ५० प्रतिशत घटेको बताउनुभयो । ‘पछिल्लो समय बैङ्कको ब्याजदरले पनि धेरै समस्या भयो’ उहाँले भन्नुभयो, ‘कतिपय व्यापारी पेसाबाटै पलायन हुने अवस्था आएको छ ।’

कोरोना महामारीले गर्दा आर्थिक मन्दी भएको व्यवसायीहरूको भनाइ छ । मान्छेसँग पहिलेजस्तो पैसा नरहेका कारण सबैतिर व्यापार घट्दैगएको व्यवसायीको गुनासो छ ।