• १५ वैशाख २०८१, शनिबार

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम स्थगित

blog

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, चैत ८ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिनेगरी आज बुधबारका लागि तय भएको कार्यक्रम स्थगित भएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिने दिन र समयसमेत निर्धारण भएकोमा नयाँ गठबन्धनमा रहेका दलहरुबीचको असमझदारीका कारण अन्तिम समयमा आएर मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम स्थगित गर्नुभएको हो । 

मुख्यमन्त्री जम्कट्टेलका स्वकीय सचिव विजय बुर्लाकोटीले मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिन आज बुधबारका लागि तय भएकोमा स्थगित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्भव भएसम्म शुक्रबार नभए चैत १५ गतेभित्रमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिइसक्ने बताउनुभएको छ । 

बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लाग्नुभएको हो । प्रदेश सरकारमा रहेका राप्रपाका तीन मन्त्रीले गत फागुन १३ गते मन्त्रीबाट राजीनामा दिएका थिए । 

पछिल्लो गठबन्धनमा सहभागी दलहरूले विश्वासको मत माग्नुपूर्व छलफल नभएको भन्दै असन्तुष्टि जनाउँदैआएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुपूर्व सत्ता भागबण्डा लगायतका विषयमा दलहरूसँग छलफल नै नगरेको आरोप छ । माओवादी केन्द्रका नेता एवम् प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरू हेटौँडा आइनसकेकाले बुधबारको विश्वासको मत लिने कार्यक्रम स्थगित भएको बताउनुभयो । 

मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले सूचना जारी गरेको थियो । मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने बारेमा छलफल गर्न काठमाडौँमा आज कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ । मुख्यमन्त्री जम्कट्टेलले यसअघि गत  माघ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो ।