• १६ चैत २०८०, शुक्रबार

आरन पेसामा युवा पुस्ताको कम आकर्षण

blog

आरनमा भाटी चलाएर खुकुरीमा पाइन लगाउँदै गोरे । तस्विरः हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला

उर्लाबारी, चैत ८ गते । हातमा सीप र मनमा आँट भए कुनै पनि काम गर्न न बुढ्यौलीले छेक्छ ,न परिवारले रोक्छ । मोरङको कानेपोखरी ७ का गोरे विश्वकर्मा ७३ वर्षको भएर पनि आरनको सहारा लिएर महिनामा २२-२५ हजार रुपियाँ कमाउनुहुन्छ । 

गोरेको अनुहार चाउरी परिसक्यो । दाँत आधाउधी झरिसके । दारी कपाल फुलिसके ।  काँजो लगाएको चस्मा लगाएर उहाँ चैतको प्रचण्ड गर्मीमा आरन चलाउँदै आफ्नो परम्परागत पेसालाई धानिरहनुभएको छ । तीन भाइ छोरा वरिपरि छन् । नातिहरू पनि लाठे भइसके । आफ्नो परम्परागत पेसाबाट प्रशस्त पैसा कमाउन सकिन्छ भन्ने जान्दा जान्दै उनीहरू बाबुको पेसासँग बेखबर जस्तै छन् । गोरेले भन्नुभयो, घन ठोक्न साथी चाहिन्छ, त्यति बेला गुहार माग्छु । नजिकै भएको बेला छोरा नातिले आलोपालो गरेर सघाउँछन् । 

खोटाङबाट ७ वर्ष अघि मोरङको कानेपोखरी–७ मा बसाई झर्नुभएका गोरेलाई २-३ वर्ष आफ्नो सीपको प्रचार गर्न समय लाग्यो । जब उहाँले खुकुरी, हँसिया, दाउ, बन्चरोलगायतका घरायसी हात हतियार बनाउने सीप देखाउन थाल्नुभयो । गाउँमा उहाँलाई भ्याई नभ्याई सुरु भयो ।  उहाँ भन्नुहुन्छ–काम नपाएर कुनै दिन बस्नुपरेको छैन । हिउँद होस् या बर्खा, गोरेको दैनिकी  आरनमा कोइला हाल्दै भाटी चलाउने र हँसियामा दाँत काट्ने, खुकुरी बनाउने, दाप लगाउने सुरु हुन्छ । 

दैनिक ७ सयदेखि १ हजार रुपियाँ कमाइ भइरहेको बताउने गोरे सीप हुँदा पैसा कमाउन विदेश जानु नपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो–छोरो नाति मैलो लाग्ला जस्तो गर्छन्,आफ्नो परम्परागत पेसा नै गर्न लजाएर कहाँ हुन्छ र ? छोराहरूलाई सीप सिकाउन  खोज्दा पनि नमानेपछि अहिले गोरेले छोराहरू स्वतन्त्र रूपमा काम गर्न छोडिदिनुभएको छ । उहाँले हाँस्दै भन्नुभयो – केटाहरू मेरो जति पैसा कमाउँदैनन् । ४ हजार भत्तासहित आफूले मासिक ३० हजार कमाउने गरेको गोरेको दाबी छ ।