• १३ वैशाख २०८१, बिहिबार

तानसेनले वितरण गर्‍यो कुहिएको मकैको बीउ

blog

नगरपालिकाले वितरण गरेको मकैको बीउ । तस्बिर: रेखीराम राना

रेखीराम राना

पाल्पा, चैत ८ गते ।  नगरपालिकाले कुहिएको मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको मकैको बीउ कुहिएको पाइएको हो । नगरपालिकाका विभिन्न वडामा वितरण गरिएको साढे ६ टन मनकामना–३, जातको मकैको बीउ कुहिएको तानसेन–९, का किसान दिनेश पाण्डेयले बताउनुभयो । 

नगरपालिकाले अनुदानमा वितरण गरेको मकैको बीउ नाथ्रा कुहिएको छ पाण्डेयले भन्नुभयो तत्काल छानबिन गर्नुपर्छ । तानसेन नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नगरका अधिकांश वडामा मकै तथा अन्य तरकारीका बीउ वितरण गरिरहेको छ । तर मकैको बीउ कुहिएको बाँडिएपछि किसान आक्रोशित बनेका छन् । बाँडिएको मकैको बीउ ७५ प्रतिशत उम्रन नसक्ने खालको रहेको किसानको भनाइ छ । 

तानसेन नगरपालिकाले भने मकैको बीउ शिवगुफा साना किसान सहकारी संस्था लिमिटेड जुगरा–४, रोल्पाबाट आएको जनाएको छ । यद्यपि यो बीउ ढुवानी तथा नगरपालिकालाई उपलब्ध गराउने जिम्मा भने तानसेनस्थित भण्डारी एग्रोभेट सेन्टरले पाएको नगरपालिकाका कृषि शाखाका नायब सहायक प्राविधिक सरोज तिमिल्सिनाले जानकारी दिनुभयो । 

नगरपालिकामा सात टन मकैको बीउ ल्याउने जिम्मा तानसेनको भण्डारी एग्रोभेट सेन्टरको हो तिमिल्सिनाले भन्नुभयो । केही बोरा मकैको बीउ कुहिएको भेटियो उहाँले भन्नुभयो कुहिएका बीउ फिर्ता गराउँछौँ । नगरपालिकाका अनुसार प्रतिकेजी मकैको बीउको १२० रुपियाँ परेको छ । जसमा नगरपालिकाको ६० र किसानको ६० रुपियाँ परेको छ । केही किसानले मकैको बीउ वितरणमा तानसेनकै सप्लायर्सले बदमासी गरेको हुन सक्ने बताएका छन् । 

तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले भने कुहिएको मकैको बीउ वितरण भएको भन्ने गुनासो किसानबाट आएको बताउनुभयो । उहाँले वितरण भएको केही बीउमा समस्या भएको हुन सक्ने बताउनुभयो । मकैको बीउ कुहिएको विषयमा छानबिन गरेर अगाडि बढ्ने आचार्यले बताउनुभयो । नगरपालिकाले हालसम्म साढे ६ टन मकैको बीउ वितरण गरिसकेको छ । तानसेन–९, वडाध्यक्ष राजेशकुमार अर्यालले नगरपालिकाबाट प्राप्त मकैको बीउ किसानलाई वितरण गरिएको बताउनुभयो । उहाँले नगरपालिकाबाट खरिद गरिएको बीउ कुहिएको पाइएको बताउनुभयो ।