• १४ वैशाख २०८१, शुक्रबार

विदेशिएका नेपाली पनि सामाजिक सुरक्षा कोषमा

blog

काठमाडौँ, चैत ८ गते । सरकारले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपाली श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोड्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोषले बुधबार औपचारिक कार्यक्रममार्फत वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा स्वरोजगार रहेका श्रमिकलाई कोषको योजनामा जोड्न थालेको हो । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)सँगको सहकार्यमा विदेशमा बस्ने सबै नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्न लागिएको हो । विदेशमा व्यापार व्यवसाय गर्ने गैरआवासीय नेपाली पनि यो कार्यक्रममा समेटिने कोषको कार्यालयले जनाएको छ । 

पाँच वर्षअघि औपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा ल्याए पनि स्वरोजगार, अनौपचारिक तथा विदेशमा रहेका श्रमिकलाई कोषको दायरामा ल्याइएको थिएन । कोषको कार्यविधि संशोधन गरी यो व्यवस्था गर्न लागिएको श्रम मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष एकनारायण अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कोषको सफ्टवेयर प्रणालीलाई वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)सँग अन्तरआबद्ध गरिसकिएको छ । उक्त सफ्टवेयरमार्फत बुधबारदेखि वैदेशिक रोजगारीमा जाने र विदेशमा स्वरोजगार रहेका श्रमिकलाई कोषमा आबद्ध गरिने उहाँको भनाइ छ ।

सरकारले मङ्सिर अन्तिम साता वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–२०७९ स्वीकृत गरेको थियो । स्वीकृत कार्यविधि ९० दिन पूरा भएपछि कार्यान्वयनमा ल्याउने व्यवस्था अनुरूप चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा जानेलाई कोषमा आबद्ध गर्न लागिएको सचिव अर्यालले जानकारी दिनुभयो । 

कोषका अनुसार अबदेखि विदेश जान नयाँ श्रमस्वीकृति लिनेलाई अनिवार्य र विदेशमा रहेकाले चाहेमा विदेश रहेर पनि फेमिस प्रणालीमा आबद्ध हुन सक्ने व्यवस्था छ । अबदेखि वैदेशिक रोजगारीमा जान नयाँ श्रमस्वीकृति लिने श्रमिकले अनिवार्य रूपमा कोषमा आबद्ध हुनु पर्नेछ । 

यसका लागि श्रमस्वीकृति लिएपछि कोषमा आवद्ध गराएर नम्बर दिएर पठाउने र त्यो नम्बरका आधारमा कोषमा जम्मा गर्ने व्यवस्था छ । गन्तव्य मुलुकले दिने सामाजिक सुरक्षा कार्यक्रममा समावेश भए पनि यो कोषमा आबद्ध हुनुपर्ने छ । 

वैदेशिक रोजगारीमा जाने वा विदेशमा स्वरोजगार रहेको नागरिकले कम्तीमा न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम दुुई हजार मासिक रूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने छन् । 

कार्यविधिले नियमित रूपमा योगदान गर्ने योगदानकर्तालाई औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योगदान दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना जस्ता विभिन्न योजना सञ्चालनमा ल्याएको छ । 

वैदेशिक रोजगारीमा रहेका श्रमिकले अग्रिम रूपमा योगदान गरेमा १० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ । खर्च कटाई आम्दानीको ७० प्रतिशत रकम औपचारिक माध्यमबाट विप्रेषण पठाएको प्रमाण पेस गरेमा २० प्रतिशत छुट रकम फिर्ता हुने प्रावधान रहेको छ ।

कोषका अनुसार दुर्घटना, अशक्तता र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत सुविधा नलिएमा २० प्रतिशत रकम छुटको व्यवस्था तथा नेपालमा फर्केपछि अन्यजस्तै औपचारिक, अनौपचारिक र स्वरोजगार योजनामा जान सक्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषबाट कर्जा तथा सापटीको व्यवस्था पनि राखिएको छ । 

कोषको योजनामा हालसम्म १७ हजार ७३७ रोजगारदाता र तीन लाख ९९ हजार ५६६ योगदानकर्ता आबद्ध भइसकेका छन् । कोषमा हालसम्म ३० अर्ब ८७ करोड रुपियाँ योगदान रकम सङ्कलन भइसकेको छ । 

पौने चार अर्बभन्दा बढी दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषले हालसम्म विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपियाँ दाबी भुक्तानी गरिसकेको छ । 

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले २०७६ देखि विभिन्न योजनाको दाबी भुक्तानी गर्दै आएको छ ।

कोषले औषधोपचार सुविधाबापत ४४ करोड ५९ लाख ९६ हजार रुपियाँ, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधाबापत पाँच करोड ४५ लाख १७ हजार रुपियाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत छ करोड ४६ लाख ६३ हजार र वृद्धावस्था सुरक्षा योजनाबापत तीन अर्ब २१ करोड ६५ लाख ७१ हजार रुपियाँ दाबी भुक्तानी गरेको छ । कोषले ६८ हजार ३६ योगदानकर्तालाई एक लाख छ हजार चार सय ५८ पटक विभिन्न शीर्षकमा दाबी भुक्तानी गरेको छ ।