केशवराज भट्ट
वासुलिङ, बैतडी, वैशाख १३ गते । जिल्लाको पुर्चौंडीमा रहेको इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुखको अभाव अन्त्य भएको छ । लामो समयदेखि प्रमुखविहीन अवस्थामा रहेको उक्त कार्यालयमा उत्तमबहादुर विष्टलाई प्रमुखको जिम्मेवारीसहित खटाइएपछि सेवा प्रवाह पुनः सुचारु हुने अपेक्षा गरिएको छ ।
गृह मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय बैतडीमा कार्यरत नायब सुब्बा विष्टलाई इलाका प्रशासन कार्यालय पुर्चौंडीको प्रमुखका रूपमा जिम्मेवारी दिइएको हो । उहाँलाई कार्यालयमा नियमित प्रमुख हाजिर नहुँदासम्म प्रचलित कानुनबमोजिम प्रशासनिक तथा आर्थिक कारोबार सञ्चालन गर्ने अधिकारसमेत प्रदान गरिएको छ ।
बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार विष्टले आगामी सोमबारदेखि इलाका प्रशासन कार्यालय पुर्चौंडीबाट औपचारिक रूपमा सेवा सुरु गर्नेछन् । कार्यालय प्रमुख नहुँदा अवरुद्ध भएका सेवा अब नियमित हुने उहाँले बताउनुभयो ।
इलाका प्रशासन कार्यालयमा प्रमुखको अभावका कारण गत मंसिरदेखि नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र तथा नाबालिग परिचयपत्रसम्बन्धी कार्य प्रभावित हुँदै आएका थिए । स्थानीयवासीले आधारभूत प्रशासनिक सेवाका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता भोग्दै आएका थिए ।
अब नयाँ प्रमुखको व्यवस्थासँगै ती सेवा पुनः सञ्चालनमा आउने र पुर्चौंडी क्षेत्रका नागरिकलाई सहजता हुने अपेक्षा गरिएको छ । स्थानीय तह नजिकैबाट सेवा प्राप्त हुने व्यवस्थाले समय र खर्च दुवै बचत हुने विश्वास गरिएको छ ।
सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्थानीयस्तरमै प्रशासनिक संरचना सुदृढ गर्ने नीतिअनुरूप इलाका प्रशासन कार्यालयहरूलाई सक्रिय बनाउँदै आएको सन्दर्भमा पुर्चौंडीमा प्रमुख खटाइनु सकारात्मक रूपमा हेरिएको छ ।