• १३ असोज २०८१, आइतबार

‘ग्लोबल मनी वीक’ कार्यक्रमअन्तर्गत गुल्मीमा वित्तीय साक्षरता

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत ७ गते । नेपाल बैंक लिमिटेड तम्घास शाखाले गुल्मीको सदरमुकाम तम्घासमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । युवा विद्यार्थीहरुलाई वित्तीय ज्ञान र सीपबाट व्यावहारिक रुपमा सक्षम बनाउँदै आर्थिक वृद्धिमा सहयोग पुराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । 

सदरमुकाम तम्घासअन्तर्गत सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा–१२ का विद्यार्थीहरुमाझ उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा वित्तीय साक्षरताको अर्थ, नेपालमा वित्तीय प्रणालीको अवस्था, बैंकले गर्ने मुख्य कामहरु, वित्तीय अनुशासन र डिजिटल बैंकिङ प्रविधि लगायतका विषयमा जानकारी गराइएको नेपाल बैंक तम्घास शाखा प्रमुख नारायणप्रसाद कँडेलले जानकारी दिनुभयो । 

युवाहरुमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउनका लागि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सोमबारदेखि सञ्चालन गरिएको ‘ग्लोबल मनी वीक’ को युवा लक्षित कार्यक्रमअन्तर्गत बैंकद्वारा उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपाल बैंक तम्घास शाखा प्रमुख नारायण प्रसाद कँडेलले विद्यार्थीहरुलाई बचत, कर्जा सापटी, भुक्तानी, डिजिटल बैंकिङ्ग प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीलगायतका विषयमा अभिमुखीकरण गराउनुभयो । 

त्यस कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले राष्ट्र बैंकले सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रमले युवा वर्गका विद्यार्थीलाई वित्तीय शिक्षाको बारेमा थप महत्वपूर्ण जानकारी प्रदान गरेको बताउनुभयो । 

कार्यक्रममा नेपाल बैंक तम्घास शाखाका तर्फबाट सरिता पन्थी, गीता अर्याल, कबिल परियार लगायतको सहभागिता थियो । गुल्मीमा नेपाल बैंकले गत दुई वर्षदेखि यहाँका नागरिकहरुलाई वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।