• ८ वैशाख २०८१, शनिबार

आठ महिनामा विदेशिए सवा पाँच लाख

blog

काठमाडौँ, चैत ७ गते  । रोजगारीका लागि विदेशिनेको सङ्ख्या अहिलेसम्मकै उच्च रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा झन्डै सवा पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा वैदेशिक रोजगारीको सिलसिलामा ६१ हजार ८४५ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनमा श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो महिना (माघ)को तुलनामा केही कम हो । 

विभागका महानिर्देशक उमाकान्त आचार्यले मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या वृद्धि भएको बताउनुभयो । 

पछिल्लो समय साउदी अरब नेपालीको चौथो गन्तव्य देश बनेको छ । मलेसियामा आप्रवासी श्रमिकको सेवासुविधा बढेसँगै साउदी अरब कम रोजाइमा पर्ने गरेको र गएका पनि फर्किने क्रम बढेको महानिर्देशक आचार्यले बताउनुभयो । फागुनमा ५६ हजार ७१९ जना पुरुष र पाँच हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका छन् ।

विभागका अनुसार माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए । यो नयाँ श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको सङ्ख्या हो । 

फागुनमा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत २९ हजार २८८ जना युवा विदेशिएका छन् । व्यक्तिगत रूपमा जाने नयाँ श्रमिकको सङ्ख्या पाँच हजार ५३६ जना छ । जीटुजीमार्फत दुई हजार १७० जना युवा विदेश गएका छन् । व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने २४ हजार ८५१ जना रहेको छ । 

मलेसिया पहिलो गन्तव्य

विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिना (साउन–फागुन)मा पाँच लाख २४ हजार ९३ जनाले श्रम स्वीकृति लिएका छन् । 

यसमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन, ओमन)लगायतका देशमा जानेको हिस्सा ८० प्रतिशत रहेको छ । बाँकी हिस्सा अन्य देशमा जाने सङ्ख्या रहेको छ । 

विभागका अनुसार गत फागुन महिनामा मलेसियाका लागि १९ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३०३ जना, यूएईका लागि नौ हजार ७९५ जना र साउदी अरबका लागि नौ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् । 

यसैगरी सो अवधिमा कुवेतका लागि दुई हजार ४६२ जना र  दक्षिण कोरियाका लागि दुई हजार २२७ जनाले श्रम स्वीकृति लिएका छन् । रोमानियामा एक हजार ७० जना, जापानमा ८७१ जना, पोल्यान्डमा छ सय जना र बहराइनमा ५९५ जनाले स्वीकृति लिएको विभागले जनाएको छ ।

अधिकांश दक्ष

फागुन महिनामा विदेशिने नेपाली युवा अधिकांश दक्ष योग्यताका छन् । विभागका अनुसार फागुनमा विदेशिनेमध्ये ४२ हजार ७१८ जना युवा ‘दक्ष’ रहेका छन् । अदक्ष युवा १३ हजार ५८० जना विदेशिएका छन् । 

दक्षभन्दा माथिल्लो स्तरको योग्यता भएका पाँच हजार ४४९ जना युवाले श्रम स्वीकृति लिएका छन् । ‘प्रोफेसनल’ योग्यताका ६८ र उच्च दक्षता हासिल गरेका ३० जना वैदेशिक रोजगारीमा विदेशिएको विभागले जनाएको छ ।