नविन शिशिर
बागलुङ, चैत ५ गते । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवारीको भिरमा लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने संसारकै लामो झोलुङे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो ।
लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्बिर खिच्ने बेला भीरमा खसेकी थिइन् । पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसूदन न्यौपानेले बताउनुभयो ।
न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पुर्याउँदै गर्दा खातुनको मृत्यु भएको हो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।