• १२ वैशाख २०८३, शनिबार

अभिव्यक्ति स्वतन्त्रताको उच्चतम प्रयोग साहित्यमा गर्न सकिन्छ : पोखरेल

blog

लेट्स टक चितवनको आयोजनामा शनिबार भरतपुरमा सम्पन्न ‘लेखन र पत्रकारितामा विपुलको संकल्प’ विषयक विमर्श कार्यक्रम । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ, वैशाख १२ गते ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा राजनीतिक विश्लेषक विपुल पोखरेलले अभिव्यक्ति स्वतन्त्रताको उच्चतम प्रयोग साहित्यमा गर्न सकिने बताउनुभएको छ ।

लेट्स टक चितवनको आयोजनामा शनिबार भरतपुरमा सम्पन्न ‘लेखन र पत्रकारितामा विपुलको संकल्प’ विषयक विमर्श कार्यक्रममा बोल्दै पोखरेलले साहित्यमा स्वच्छन्दताको स्थान रहने धारणा राख्नुभयो ।

“पत्रकारिता र साहित्य समाजका लागि हितकर र लाभदायी हुनुपर्छ,” उहाँले भन्नुभयो, “समाचारमा पक्षधरता देखाउनु गलत हो । तटस्थता आवश्यक छ । लेखनको न्याय भने व्यक्ति विशेषले मूल्याङ्कन गर्नु हुँदैन ।”

उहाँले पत्रकारिता र साहित्य लेखनबिच फरक पहिचान हुने बताउँदै लेखनमार्फत विचार प्रवाह हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकार कृष्ण गिरीले पोखरेलसँग संवाद गर्नुभएको थियो । कार्यक्रम लेट्स टकका अध्यक्ष आकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।