• ६ वैशाख २०८१, बिहिबार

राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेस

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गर्नुहुँदै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया । तस्बिर : राष्ट्रपतिको कार्यालय

काठमाडौं, चैत ५ गते। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति  निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेस गरेको छ। चैत ३ गतेमा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित हुनुभएको थियो।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाउनुभएको हो। 

सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको संविधानको भाग २४ धारा २४६ मा संविधान र सङ्घीय कानुनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्था बमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्णरूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिनुभयो।

उहाँले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले लोकतन्त्र परिपक्क हुँदै गएको उल्लेख गर्नुभयो।

प्रमुख आयुक्त थपलियाले गत फागुन २५ मा निर्वाचित भई राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च र गरिमामय पदमा रही महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएकामा राष्ट्रपति पौडेलप्रति बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। 

उहाँले यो वर्ष निर्वाचनमय वर्ष रहेको उल्लेख गर्दै गत वर्ष २०७८ माघ १२ गते राष्ट्रिय सभाको रिक्त १९ पदको निर्वाचनबाट सुरु भएको यो सिलसिला यही चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै पूरा भएको बताउनुभयो। यस कार्यमा नेपाल सरकार, सम्बन्धित निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता र सबै पक्षको सहयोगका लागि आयोगका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो।

उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभार मध्ये उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादव ३० हजार ३२८ मतभार प्राप्त गर्नुभएको थियो। 

कार्यक्रममा निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडीसहित सहभागी हुनुभएको थियो। 

नेपालको संविधानको धारा ६७ अनुसार नेपालमा एक उपराष्ट्रपति रहने र राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट सम्पादन गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने व्यवस्था छ। 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी २०७९ माघ १६ गतेको आयोगको बैठकबाट २०७९ चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको थियो। नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ। रासस