• १६ चैत २०८०, शुक्रबार

स्वस्थ जीवनका लागि पर्याप्त निद्रा अपरिहार्य

blog

काठमाडौँ, चैत ५ गते । स्वस्थ जीवनयापनका लागि ‘गुणस्तरीय निद्रा’ अपरिहार्य रहेको बताइएको छ। ‘नेप्लिज सोसाइटी अफ स्लिप डिस्अर्डर्स’ले आयोजना गरेको एक कार्यक्रममा चिकित्सकहरूले गुणस्तरीय निद्राले मात्रै स्वस्थ जीवनशैली अपनाउन सकिने बताउनुभएको हो।

छाती रोग तथा निद्रा विकार विशेषज्ञ डा. राजु पङ्गेनीले स्वस्थ व्यक्तिका लागि २४ घण्टामा कम्तीमा सातदेखि आठ घण्टा निद्रा आवश्यक रहेको बताउनुभयो। निद्रालाई प्राथमिकता नदिने गरिएको भन्दै उहाँले निद्रा नपुग्दा व्यक्तिको दैनिकी र स्वास्थ्यमा धेरै समस्या पर्ने बताउनुभयो। गुणस्तरीय निद्रा नभएको अवस्थामा विभिन्न दुर्घटना हुन सक्ने उहाँको भनाइ छ। 

डा पङ्गेनीले निद्रा पूरा नभएको अवस्थामा थकाइ लाग्ने, टाउको दुख्ने, चिडचिडाहट हुने, तनाव हुने, सवारीसाधन चलाउँदा दुर्घटना हुन सक्ने बताउनुभयो। सुत्दा घुर्ने समस्याले रोग निम्त्याउने बताउँदै उहाँले १७ देखि २० प्रतिशत व्यक्तिमा घुराइसम्बन्धी समस्याले अन्य स्वास्थ्य समस्या हुन सक्ने बताउनुभयो। सामान्य व्यक्तिमा भन्दा घुर्ने व्यक्तिमा मुटुसम्बन्धी समस्या बढी हुन सक्ने उहाँले बताउनुभयो। घुर्ने व्यक्तिमा उच्च रक्तचाप ३० देखि ८३ प्रतिशत र मुटुसम्बन्धी रोग ३० देखि ५८ प्रतिशत जोखिम हुने बताउनुभयो। 

नेप्लिज सोसाइटी अफ स्लिप डिस्अर्डर्सका महासचिव डा. योगेश न्यौपानेले आवश्यकताअनुसार धेरै र थोरै सुत्नु पनि समस्या भएको बताउनुभयो। एउटै समयमा सुत्ने र उठ्ने गर्नुपर्ने, दिउँसो नसुत्ने र सुत्नै परे एक घण्टाभन्दा कम सुत्नुपर्ने बताउँदै उहाँले पाँचदेखि १८ वर्ष मुनिका बालबालिकाले नौ घण्टा र वयस्कले सात घण्टा अनिवार्य सुत्नुपर्ने बताउनुभयो।