• १४ वैशाख २०८१, शुक्रबार

हिमाललाई लिगलिगे साइकल दौड उपाधि

blog

लिगलिगे साइकल दौडमा सहभागीहरु । तस्बिरहरु : सुजन गुरुङ

काठमाडौं, चैत ४ गते । गोरखाको पालुङ्टारमा आयोजना गरिएको लिगलिगे साइकल दौडको उपाधि हिमाल टमटाले जित्नुभएको छ । 

अच्युत कृष्ण खरेल दोस्रो र कुमार तामाङ तेस्रो हुनुभयो । करिब १०० सहभागी रहेको लिगलिगे साइकल दौड शनिबार सम्पन्न भएको हो ।  करिब ५३ किलोमिटर लामो माउन्टेन बाइक रेसमा सहभागी हुन व्यावसायिक साइकल रेस खेलाडी र उत्सुकहरू सहभागी थिए । 


लिगलिगकोटबाट सुरु हुने यस साइकल प्रतियोगिता गोरखा र लम्जुङ्का विभिन्न क्षेत्रसम्म पुगेको थियो । सहभागीले पालुङ्टारकै आपँपिल, हर्मी भञ्ज्याङ, कोयापानी र रिपगाउँ हुँदै पाथीभरा, भण्डारथोकबाट चेपे खोला तरेर लम्जुङ्को गरमबेशीसम्म पुगेर पालुङ्टार हवाइअड्डा हुँदै तालपोखरी, ठाँटीपोखरी, बाह्रपिर्के र बधडाँडा हुँदै फेरी लिगलिगकोट डाँडा पुगेर सकिएको थियो । 

आयोजकका अनुसार लिगलिगकोटलाई साहसिक खेलको केन्द्रको रूपमा विकास गर्नको लागि २०७७ देखि हरेक वर्ष कार्यक्रम आयोजना गरिएको  हो ।

१६औँ शताब्दीमा घले राजाहरूले शासन गर्ने गरेको लिगलिग राज्यको राजधानी लिगलिगकोट थियो । त्यस समयमा घले राजाहरूले हरेक वर्ष नयाँ शासक चुन्नको लागि दौड आयोजना गर्ने गर्दथे । 


द्रव्य शाहले पनि उक्त दौडमा भाग लिएको र जित पश्चात् नयाँ राजा चुन्नको लागि आयोजना गर्ने गरिएको उक्त दौड नै बन्द गराएर नेपालको एकीकरणको जग बसाउन सघाएको पनि विश्वास गरिन्छ ।

अहिलेसम्म यस क्षेत्रमा हरेक वर्ष दशैंको समयमा दौडको आयोजना गर्ने गरिन्छ । लिगलिगकोट दौड जस्तै साइकल रेस पनि आयोजना गरेर यहाँको भौगोलिक अवस्था र क्षेत्रको पर्यटकीय एवम् साहसिक खेलको प्रवर्द्धन गर्नको लागि आयोजना गरिएको आयोजक टोलीका सदस्य सञ्जीव रानामगरले बताउनुभयो।


शनिबार भएको साइकल दौडमा भने ३ विधामा प्रतिस्पर्धा भएको थियो । मेन्स इलाइट, मेन्स मास्टर र स्थानीय गरेर सहभागीहरूले प्रतिस्पर्धा गरेका थिए । मेन्स इलाइट तर्फका विजेताले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार पुरस्कार राशि र मेडल पाए ।


चौंथो र पाँचौँ  स्थानमा दौड पुरा गर्ने सहभागीले भने १५ हजार र ७ हजार ५ सय रुपियाँ प्राप्त गरे । मेन्स मास्टर्सतर्फ प्रथम स्थानमा दौड पुरा गर्नेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपियाँ प्राप्त गरेका छन् । 


दौडमा पालुङ्टार, राइनस पालिका र सिराचोक गाउँपालिकाबाट दौडमा प्रथम हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार पाएका छन् ।