• ११ वैशाख २०८१, मङ्गलबार

‘बी’ डिभिजन लिगबारे क्लबहरूको आशङ्का

blog

‘बी’ डिभिजन लिग समयमा गरिनु पर्ने माग राख्दै क्लबका पदाधिकारीहरु । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत ४ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले समयमै शहीद स्मारक ‘बी’ डिभिजन लिग गर्नेमा क्बलहरुले शङ्का व्यक्त गरेका छन् ।

एन्फाले चैत १५ गतेबाट लिग आयोजना गर्ने भने पनि अहिलेसम्म क्लबहरूलाई पत्राचार नगरिएकोले लिग अन्योलमा परेको क्लबका पदाधिकारीले बताएका छन् । ‘बी’ डिभिजनका १४ क्लबमध्ये १३ क्लबले काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनगरी समयमै लिग हुने ग्यारेन्टीको माग समेत गरेका छन् । 

लिग सुरु हुनुभन्दा ४५ दिन अगाडि माघ २९ सम्ममा एन्फाले ‘बी’ डिभिजनका क्लबहरूलाई तयारी खर्चबापत दिनुपर्ने १४ लाख ५० हजारमध्ये पहिलो किस्ताको आठ लाख ७० हजार रुपियाँ निकासा गर्ने क्लब र एन्फाबीच सम्झौता भएपनि उक्त रकम नपाएको ‘बी’ डिभिजन क्लबका संयोजक कुमार राजभण्डारीले बताउनुभयो । 

‘‘एन्फालाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि लिगप्रति चासो नदिएपछि बाध्य भएर पत्रकारसम्मेलन गरेका हौँ । लिगको लागि क्लबहरूले खेलाडी अनुबन्ध देखि तयारी गरिरहेको अवस्था छ । एन्फाले अहिलेसम्म लिगको विषयमा कुरा नगर्दै आशक पैदा भएको छ,’’ भण्डारीले भन्नुभयो । 

सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीले एन्फाले लिग हुन्छ भन्दै आलटाल गरिहरेको बताउनुभयो । ‘‘लिगका लागि प्रत्येक क्लबले आठ १० लाख रुपियाँ खर्च गरिसकेका छन् । यदि समयमा लिग गरिएन भने एन्फासँग  क्षतिपूर्ति माग गर्छौ । क्षतिपूर्ति नदिए कडा आन्दोलनका कार्यक्रम ल्याउँछौ । ‘ए’ डिभिजनमा लिग नभए क्षतिपूर्ति दिने सम्झौता एन्फाले गरेको छ । ‘बी’ डिभिजनसँग पनि गरिनुपर्छ,’’ एन्फाका पूर्व उपाध्यक्ष समेत रहनुभएका पराजुलीले भन्नुभयो । 

यस्तै एन्फाका पूर्व उपाध्यक्ष तथा मध्यपुर यूथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले एन्फाले लिग गरे क्लबहरू तत्काल खेल्न तयार भएको बताउनुभयो । ‘‘क्लबहरू लिग खेल्न तयार छन् । तर एन्फाले अहिलेसम्म नियमावली प्रकाशन गरेको छैन । लिग सुरु हुन ४५ दिन अघि दिने भनेको तयारी खर्च पनि अझै दिएको छैन । घोषित मितिमा लिग हुन्छ भनेर कसरी पत्याउनु । ‘बी’ डिभिजन भनेको खेलाडी उत्पादन गर्ने थलो हो । लिगमा पाँच सय भन्दा बढी खेलाडी सहभागी हुन्छन् । लिग नभए सबै बेरोजगार हुन्छन् । यसले शहीद स्मारक लिगको संरचनामा समेत असर पर्नेछ,’’ सिंहले भन्नुभयो । 

‘बी’ डिभिजन लिग समयमै गरिनु पर्ने माग राख्ने क्लबहरूमा ब्रिगेड ब्वाइज, मध्यपुर यूथ, नयाँ बस्ती यूथ, बाँसबारी, कुमारी, सरस्वती यूथ, वीरगञ्ज युनाइटेड, श्री टुसाल यूथ, ब्वाइज युनियन, आरसिटी, श्री भगवती, च्यासल यूथ र झापा फुटबल क्लब रहेका छन् । 

एन्फा उपाध्यक्ष दावा लामाको क्लब प्लानिङ ब्वाइज क्लबले भने यसमा सहभागी छैन । क्लबहरूले सम्झौताअनुसार माघ २९ गते लिग तयारी खर्चबापतको पहिलो किस्ता नपाएपछि एन्फा अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।