प्रेमराज सिम्खडा
कालीकोट, चैत ४ गते । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सन्तोष बुढा मगरले नुनदेखि सुनसम्म आयातमा भरपर्दा मुलुक गरिबीको दलदलमा फसेको बताउनुभएको छ ।
नेपाली राजनीतिक दलहरूले कुर्सी मात्र परिवर्तन गर्न जानेका, देशको नीति अर्थतन्त्र सुधारका लागि उत्पादन वृद्धिका लागि र आयात रोक्न नसक्नु दलका नेताहरूको कमजोरी भएको उहाँले टिप्पणी गर्नुभयो ।
आज मान्ममा आयोजित सर्वपक्षीय छलफलमा उहाँले सो टिप्पणी गर्नुभएको हो । संविधान सभा सदस्य समेत रहनु भएका नेता बुढा मगरले सीमा, नेपाली भूमिको रक्षा र नेपाली जनताको आफ्नो मौलिकतामाथि विदेशीले हस्तक्षेप गर्दा वर्तमान सरकारले प्रतिवाद गर्न नसक्नु दास मनोवृत्ति भएको उहाँको आरोप छ । जनयुद्धका कमाण्डर नै वर्तमान सरकारका प्रमुख रहनुभएका पुष्पकलम दाहाल ‘प्रचण्ड’ नेता बन्न सफल भए पनि कम्युनिष्ट हुन नसकेको उहाँले आरोप लगाउनुभयो ।
खुर्सानी पनि भारतबाट आयात गर्ने, दश रुपियाँको साग किन्न सीमा क्षेत्रका नागरिकले भारत जानुपर्ने विडम्बनापूर्ण अवस्था रहेको भन्दै उहाँले नेपाललाई आत्मनिर्भर बनाउनेतर्फ सरकार तथा दलका नेताहरूले ध्यान दिन नसकेको बताउनुभयो ।
नेताहरू आत्मकेन्द्रित, परिवारवाद र नातावादमा फसेको उहाँको आरोप छ । नेताहरू देशलाई आत्मनिर्भर बनाउनुभन्दा शक्ति केन्द्रको चाकडी मात्र गर्ने काममा लागेको उहाँले बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का नेता तथा संविधान सभा सदस्य तुलाराज विष्टले प्रचण्ड मुलुकको प्रधानमन्त्री हुँदैमा कम्युनिष्ट नेतृत्वको सरकार भन्न नमिल्ने बताउनुभयो । देशको रूपान्तरण र विकासका लागि सबै कम्युनिष्ट शक्तिहरू एक भएर अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।