• १३ वैशाख २०८१, बिहिबार

कुहिरो र जिन्दगी (कविता)

blog

कुहिरोभित्रको घाम

रुँदै छ कि हाँस्दै छ थाहा हुन्न

मनभित्र उज्यालोको रहर

मर्दै छ कि बाँच्दै छ थाहा हुन्न ।


भोगाइका अनेक अनुच्छेदमा

पढिरहेछु जिन्दगी

सुमसुम्याइरहेछु/छामिरहेछु

निरन्तर पीडाका रापले 

कठोर भएर आफैँलाई डामिरहेछु ।


सोच्छु 

आखिर जिन्दगी–

बग्दै–बग्दै जाने खोला त रहेछ

मुटु चिस्याएर भाग्ने बतास त रहेछ

छल रहेछ सायद भ्रम रहेछ

सुखदुःखको अनुक्रम रहेछ ।



निरुत्तर छु 

नसोध्नु मलाई

जिन्दगीको परिभाषा

उज्यालो हराउनुको खबर 

दुःखेका मुटुहरूका कथा ।


भोग्दै छु 

अहिले घाम पनि कुहिरोभित्र छ

सपना पनि कुहिरोभित्र छ

जिन्दगीका तमाम आशा

कतै बन्धकी छ/कतै निरीह छ

ओठमा फुल्ने खुसी पनि कुहिरोभित्र छ ।


पर्खिरहेछु 

कतै बतासले फटाउँछ छ कि यो कुहिरो

कतै अनुकूल समयले हटाउँछ कि यो कुहिरो ?