• १५ वैशाख २०८१, शनिबार

दुर्गन्धभित्र कोशी अस्पताल

blog

नवराज कट्टेल

विराटनगर, चैत ४ गते । विराटनगरको कोशी अस्पतालमा आउने सेवाग्राहीलाई पिसाब लागे शौचालयमा पस्न सक्ने अवस्था छैन। शौचालय दुर्गन्धले पस्न सक्ने अवस्था छैन। हात धुन लगाइएका बेसिनमा पान र गुट्खा खाएर थुक्दा पानी जमेर आहाल बन्ने गरेका छन्। 

सरकारी अस्पतालमा कर्मचारीले जिम्मेवारीको काम पूरा नगर्दा जथाभाबी फोहोर र दुर्गन्धले पुरिएको छ। सफाइका लागि राखिएका कर्मचारीले सही समयमा सही तरिकाले काम नगर्दा सेवाग्राहीले समेत फोहोर गरेर निस्कने गरेका हुन्। 

अस्पतालका शौचालय अति नै फोहोर भएको गुनासो आएपछि १५ दिन अगाडि निजीस्तरको सफाइ कम्पनीलाई झिकाएर सफा गरिएको थियो। कट्कटिएका शौचालयका कम्बर्ट–पेन र बेसिनलाई सफा गरेर चिटिक्क पारिएको थियो। 

अर्थो, मेडिकल, आईसीयू, गाईनो वार्डका सबै शौचालय सफा गरेर चिटिक्क पारेपछि दैनिक सफा गर्न अस्पतालका सफाइ कर्मचारीलाई निर्देशन दिइएको थियो तर पन्ध्र दिनपछि अस्पतालको भित्री परिसरमा रहेका शौचालय हेर्दा अवस्था उस्तै रहेको शुक्रबार अनुगमनका क्रममा पाइएको हो। 

शौचालय दुर्गन्ध शय्यासम्म आउँदा बिरामी र कुरुवा बसेकालाई समेत सास्ती हुने गरेको छ। हात धुने बेसिनमा पान, गुट्खा खाएर थुक्दा जाम भएर आहाल बन्ने गरेको छ। अस्पताल विकास समिति र प्रशासनले शुक्रबार शौचालयको अनुगमन गरेको थियो। विकास समिति सदस्य मुकेश बुढाथोकीका अनुसार जुन वार्डका लागि खटाइएका कर्मचारी हुन् उनीहरूले राम्रोसँग काम नगरेको पाइएपछि कि काम गर्नुपर्ने कि राजीनामा लेखेर काम छोड्नुपर्ने चेतावनी दिइएको छ। 

कोशी अस्पतालमा २९ जना सफाइ कर्मचारी छन् तर अस्पतालको अवस्था सधैं फोहोर, दुर्गन्धित भएपछि काम नगरे निष्कासन गर्ने मनस्थितिमा पुगिएको विकास समिति सदस्य बुढाथोकीले बताउनुभयो। विकास समिति सदस्य बुढाथोकीले आइतबारसम्ममा सरसफाइमा खटिने कर्मचारीले काम नगरेको पाइए उनीहरूलाई स्पष्टीकरण सोधेर बुधबारसम्ममा निकालेर नयाँ कर्मचारी राख्ने वा निजी कम्पनीलाई दैनिक सफा गर्ने जिम्मेवारी दिइने बताउनुभयो। अस्पतालमा जिम्मेवारी लिएका कर्मचारीले काम नगर्दा इलेक्ट्रिसियन, प्लम्बर र सफाइका क्षेत्रमा बारम्बार समस्या दोहोरिने गरेको पाइएको छ। केही दिन अगाडि अर्थो विभागमा पानी आपूर्ति प्रणाली समस्या हुँदा दुई दिनसम्म बिरामीको शल्यक्रिया रोकिएको थियो। 

कहिले पानी, कहिले विद्युत्को समस्या हुन्छ, सदस्य बुढाथोकीले भन्नुभयो, “तहगत रूपमा नियुक्त कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगर्दा सेवाग्राहीलाई समस्या भइरहेको छ। उहाँले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रविनराज सिंहलाई दैनिक एक पटक अस्पतालका सबै विभागमा गएर अनुगमन गर्न आग्रह गरिएको र विकास समितिअन्तर्गत नियुक्त कर्मचारीले काम नगरेको अवस्थामा तत्काल लेखेर दिन भनिएको छ। कोशी अस्पताल सुधारअन्तर्गत पछिल्लो एक महिनामा बाहिरी परिसरको फोहोर व्यवस्थापन निरन्तर भइरहेको छ।

अस्पतालका मेसु डाक्टर सिंहले सरसफाइलाई प्राथमिकतामा राखेर सेवाग्राहीलाई समेत सचेत गराउने किसिमका कार्यक्रमहरू ल्याइने बताउनुभयो। उहाँले अस्पतालमा खटिने सबै कर्मचारीले तोकिएअनुसारको जिम्मेवारी पूरा नगरे स्पष्टीकरण सोध्ने र कामबाट निष्कासन गर्नेसम्मको कारबाही हुने बताउनुभयो।