• २९ जेठ २०८२, बिहिबार

सुरक्षासँगै फेसनेबल हेल्मेट

blog

काठमाडौँ, चैत ४ गते । युवापुस्ताले आफूले प्रयोग गर्ने सामानलाई पनि फेसनकै रूपमा हेर्ने गरेका छन्। लत्ताकपडाले मात्र नभएर सडकमा हुइँकिने मोटरसाइकल तथा स्कुटरका प्रयोगकर्ताले हेल्मेटलाई पनि फेसनकै रूपमा लिने गरेका छन्। 

बजारमा आएका दर्जनौँ स्टाइलका हेल्मेटको कारणले पनि होला, अहिले यसको फेसनमा युवापुस्ता लोभिएका छन्। फरक–फरक डिजाइनका हेल्मेट उपलब्ध हुन थालेपछि यसलाई सुरक्षाका लागि मात्र नभई फेसनका रूपमा पनि प्रयोग गर्ने लहर चल्न थालेको छ। अहिलेका पुस्ताले किसिम–किसिमका स्टाइलिस हेल्मेट प्रयोग गरी मोटरसाइकल चलाइरहेका हुन्छन्। मोटरसाइकल स्टन्ड राइडर दीपेश श्रेष्ठ हेल्मेटका सोखिन नै हुनुहुन्छ। ‘पल्सर’ मोटरसाइकलमा उहाँ सिजनअनुसार हेल्मेट प्रयोग गर्नुहुन्छ। उहाँले भन्नुभयो, “चार किसिमका हेल्मेट किनेको छु, जाडोमा एजीभीको फुल हेल्मेट प्रयोग गरिरहेको छु। बाइक स्टन्ड गर्दा आफू पनि अलि फेसनेबल देखिन यस्ता हेल्मेट चेन्ज गरेर लगाउने गरेको छु।”

यस्तै दीपिका शाक्य हेमेल्ट राम्रो भएमा मात्र स्कुटर चलाउन रमाइलो लाग्ने बताउनुहुन्छ। उहाँले हाफ हेल्मेट प्रयोग गर्ने तर कहिलेकाहीँ बाइक चलाउँदा फुल हेल्मेट पनि लगाउने जानकारी दिनुभयो। मौसमको अनुकूलता हेरेर विभिन्न किसिमका हेल्मेट प्रयोगकर्ताको रोजाइमा पर्छन्। मोटरसाइकलको ब्रान्ड तथा डिजाइनका आधारमा पनि हेल्मेट प्रयोग गर्ने चलन छ।

आकर्षक देखिन तथा सुरक्षित हुन मौसमअनुसार हेल्मेट प्रयोग गर्ने प्रचलनले युवा पुस्तामाझ फेसनको रूप लिँदै गएको व्यवसायी बताउँछन्। बजारमा उपलब्ध प्रिन्टेड तथा फुल र हाफ हेल्मेटमा युवाहरूको आकर्षण बढ्दो छ। सेलिब्रेटी कलाकार तथा खेलाडीहरूले प्रयोग गरेका प्रिन्टेड हेल्मेट धेरै युवाको रोजाइमा पर्छन्। राजेश हेल्मेट स्टोर, टेकुका राजेश कार्की भन्नुहुन्छ, “आकर्षक डिजाइनका हेल्मेट युवाहरूले रोजीछानी प्रयोग गर्छन्। हिजोआज नेपाली हेल्मेटले पनि राम्रो बजार पाइरहेको छ।” उहाँले सुरक्षाका लागि प्रयोग गरिने भए पनि हिजोआज फेसन र सुरक्षा दुवैका लागि हेल्मेट प्रयोग गर्ने चलन बढेको बताउनुभयो। 

नेपाली बजारमा छ सयदेखि एक लाख ५० हजार रुपियाँसम्मका हेल्मेट पाइन्छन्। हेल्मेट भारत, चीन, थाइल्यान्ड आदि देशबाट आयात हुने गरेको छ। यस्ता हेल्मेट बाइक तथा स्कुटरको मोडल र डिजाइनअनुसार प्रयोग गर्ने चलन छ। नेपालमा एएमजी, इन्डेक्स, जीपी, एजीभी, वियोन, एलएस, सार्क आदि ब्रान्डका हेल्मेट उपलब्ध छन्। त्यसबाहेक इभोलिन सिरिज, भ्यानकोर, भिजन आर सिरिज, भ्यानटाइम, स्पिड आर सिरिज, एक्प्लोर आरका स्टाइलिज हेल्मेट पनि बजारमा छन्।