• १२ साउन २०८१, शनिबार

कालीगण्डकी जलयात्रा सङ्कटमा

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, चैत ३ गते । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको जलाशयमा हुने जलयात्रा सङ्कटमा परेको छ। कालीगण्डकी कोरिडोर र छेउछाउमा मोटरबाटोको माटो जलाशयमा खस्दा जलयात्रा सङ्कटमा परेको हो। 

मिर्मीबाट धार्मिकस्थल सेतीबेनी जान र स्थानीय पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले बनाइएको छ किलोमिटर जलाशय पुरिएर दुई किलोमिटर जलयात्रा छोटिएको छ। २० वर्ष पहिला बनेको आँधीखोला ड्यामबाट सेतीबेनीसम्म नै जलयात्रा हुने गरेकोमा अहिले दुई किमि वरै झरेर शिलाको दर्शन गर्न जानुपर्ने बाध्यता रहेको छ। 

मिर्मी आँधीमुहानदेखि पर्वतको सेतीवेणी शालिग्राम शिलासम्मको जलयात्रा छोटिँदा पर्यटक कम आउने गरेको शिला शालिग्राम कालीगण्डकी जलयातायात प्रालिका कोषाध्यक्ष प्रेम माझीले बताउनुभयो। जलाशय पुरिएसँगै जलयत्रा छोटिँदा गल्याङबाटै सडकको प्रयोग गरेर स्वदेशी तथा विदेशी पर्यटक सेतीवेणी पुग्ने गरेको माझीले बताउनुभयो। 

बाहिरी पर्यटक आउँदा मात्र जलयात्रा हुने गरेको जानकारी दिँदै माझीले भन्नुभयो, “पुरिएको कालीगण्डकीलाई व्यवस्थापन गर्न नसके कुनै समय जलयात्रा बन्द हुनेछ। २०५९ सालमा हातेडुङ्गाबाट सुरु भएको जलयात्रा छ वर्षमा १० स्टिमरमा पुगेको थियो।”