• १५ असार २०८१, शनिबार

बेलायतद्वारा स्थानीय पूर्वाधारलाई चौध अर्ब अनुदान

blog

काठमाडौँ, चैत ३ गते । स्थानीय पूर्वाधार निर्माणका लागि बेलायतले नेपाललाई १४ अर्ब ४० करोड रुपियाँ अनुदान सहयोग गर्ने भएको छ । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (एलआईएसपी)अन्तर्गत बेलायतले उक्त सहयोग गर्ने भएको हो । सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको छ ।

नेपाल सरकार र बेलायती सरकारको सहडिजाइनमा तयार गरिएको यस कार्यक्रममार्फत १७ लाख नेपाली नागरिकले प्रत्यक्ष रूपमा दिगो र समावेशी पूर्वाधार सेवा प्राप्त गर्नेछन् । यस कार्यक्रममार्फत खास गरी सार्वजनिक सेवा प्रवाहमा सुधार र स्थानीय पूर्वाधारमा भएको व्यापक लगानीको दिगोपनमा सहयोग पु-याउने विश्वास गरिएको छ । सन् २०२९ सम्म सञ्चालन हुने यस कार्यक्रममा बेलायत सरकारको अनुदान र नेपाल सरकारको समेत गरेर २० अर्ब ८० करोड रुपियाँ लगानी हुनेछ । कार्यक्रममा नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले यस सहयोगमार्फत स्थानीय सरकारले लिने निर्णय र सेवा प्रवाहलाई केन्द्रमा राख्ने र उत्तरदायी र सबल स्थानीय सरकार बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

अर्थ मन्त्रालयका सचिव तोयम रायले कार्यक्रमको कार्यान्वयनमार्फत स्थानीय पूर्वाधार र सरकारको क्षमतामा अभिवृद्धि गर्ने बताउनुभयो । स्थानीय जनजीवनको गुणस्तरमा अभिवृद्धि गर्न पनि कार्यक्रम महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो ।