• १३ असोज २०८१, आइतबार

नेविसंघको स्ववियु निर्वाचन घोषणापत्र सार्वजनिक

blog

स्वतन्त्र विद्यार्थी युनियनको चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेपाल विद्यार्थी संघ केन्द्रीय समिति । तस्बिर : नेविसंघ

काठमाडौं, चैत २ गते । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले स्वतन्त्र विद्यार्थी युनियनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेविसंघ केन्द्रीय समितिले आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गरेको हो ।

जारी घोषणापत्रको ‘नेविसंघको अबको शिक्षा नीति’ खण्डमा उल्लेख गरिएको छ–‘लोकतान्त्रिक मूल्य मान्यता स्थापित हुनेगरी ज्ञानवर्धक र जीवन उपयोगी शिक्षा लागू गर्नुपर्दछ । नेविसंघ शिक्षालाई चेतना, मस्तिष्क, प्रतिभा र सृजनशीलताको विकासको आधार ठान्दछ ।’’ नेविसंघले सबै विद्यार्थीहरूको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गराउनदेखि विद्यार्थीहरूलाई प्रविधिमैत्री हेल्थ कार्ड उपलब्ध गराउने सङ्कल्पसमेत लिएको छ ।

नेविसंघले अपाङ्गमैत्री शिक्षालय, छात्रवृत्तिको न्यायोचित वितरण, स्वच्छ पर्यावरण र सुन्दर वातावरण, स्वदेशमै शिक्षा अनि स्वदेशमै भविष्य, विद्यार्थी सहुलियतको विशेष प्याकेजलगायतका सङ्कल्प लिएको छ । नेविसंघले व्यवहारिक शैक्षिक क्यालेण्डरसमेत निर्माण गर्ने घोषणा गर्दै त्यसको खाका प्रस्तुत गरेको छ । नेविसंघले बोकेको मुख्य प्रतिबद्धतामा माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउने र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ हुँदै क्रमशः निःशुल्क बनाउने अठोट लिएको छ ।

घोषणापत्रमा नेविसंघले ‘के गर्ने’ र के नगर्ने भन्दै नीतिगत घोषणा पनि गरेको छ । जसअनुसार गर्ने कुरामा विश्वविद्यालय ऐन निर्माणको नेतृत्व गर्ने, सस्टेनेवल प्राक्टिसेस र वातावरण संरक्षण अभियानको नेतृत्व गर्ने, महँगी, कालोबजारी र भ्रष्टाचारको अन्त्य गर्ने, सबै शिक्षालयमा स्टुडेन्ट रिसर्च युनिटको स्थापना गर्ने कुरा छ ।

यस्तै, नगर्ने कुरामा भने विद्यार्थीको सामूहिक हितविपरित कुनै पनि र व्यक्तिगत स्वार्थका निमित्त सम्झौता नगर्ने, कुनै पनि दुर्व्यवहार, सामाजिक असङ्गतिलगायतको गतिविधिमा संलग्नता नगर्ने कुरा छन् ।

नेविसंघले स्ववियु निर्वाचन–२०७९ का नाराहरूसमेत तय गरेको छ । जसमा ‘ज्ञान, विज्ञान, विवेक र चेतनाको रङ्ग, सम्पूर्ण विद्यार्थीको साथी नेविसंघ’, सबैको पहुँचमा शिक्षा, पूर्ण साक्षरता नेविसंघको इच्छालगायतका विषय छन् ।

नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीहरूको आन्दोलनमार्फत देशको व्यवस्था परिवर्तन भए पनि विश्वविद्यालयको अवस्था परिवर्तन हुन नसकेको बताउनुभयो । अध्यक्ष शेर्पाले लामो समयसम्म स्ववियु निर्वाचन हुन नसक्दा विश्वविद्यालयमा विविध समस्या देखारेको बताउनुभयो । 

‘‘व्यवस्था परिवर्तन भएपछि पनि अझै पनि विश्वविद्यालयको अवस्था परिवर्तन हुन सकेको छैन । आज सानो–सानो कुराहरू समयमा परीक्षा नहुने, समयमा नतिजा नआउने र लामो समयसम्म विद्यार्थीहरूले नतिजा कुर्नुपर्ने, नतिजा कुर्दाकुर्दै खाडी देशमा जानुपर्ने अवस्था हामीले देखिरहेका छौँ ।’’ उहाँले भन्नुभयो ।

विद्यार्थीहरूका हातमा व्याच्लर र मास्टर्सका प्रमाणपत्र भए पनि उनीहरूले सामान्य इन्टर्नका लागि समेत हार गुहार गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । अध्यक्ष शेर्पाले हातमा विश्वविद्यालयको प्रमाणपत्र भए पनि मार्केटमा जागिर पाउने अवस्था नभएको बताउनुभयो । उहाँका अनुसार लामो समयसम्म स्ववियु निर्वाचन नहुनुको परिणाम देशमा अहिले दुई थरीको शैक्षिक संस्थाको स्थापना भएको छ ।

त्यसैगरी, अहिले सरकारी र सामुदायिक क्याम्पसहरूमा ल्याब र लाइब्रेरी लगायतका समस्या जस्ताको त्यस्तै रहेको उहाँको भनाइ छ । विश्वविद्यालयको अवस्था सुधारको लागि पनि स्ववियु निर्वाचनमा नेविसंघको जित अपरिहार्य भएको शेर्पाको दाबी छ ।

घोषणापत्र सार्वजनिक समितिको सदस्य सचिव विकल राईले स्ववियु निर्वाचनले विद्यार्थीहरू माँझ आलोचनात्मक चेतनाको निर्माण गर्ने बताउनुभयो । स्ववियु निर्वाचन देशका लागि सक्षम र सचेत नागरिक उत्पादन गर्ने प्लाटफर्म भएको बताउनुभयो ।

अहिले स्ववियु निर्वाचन हुन नदिने विभिन्न प्रपञ्च भइरहेकोतर्फ लक्षित गर्दै त्यसप्रति सचेत हुन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो । समाजमा विचार शून्यता हुन नदिनका लागि स्ववियु निर्वाचन हुन आवश्यक रहेको उनको भनाइ छ ।

‘‘स्ववियु निर्वाचन देशका लागि सक्षम र सचेत नागरिक उत्पादन गर्ने क्षेत्र पनि हो । स्ववियु निर्वाचनबाट टाढा राखेर विद्यार्थीहरूमा वैचारिक शून्यता प्लान्ट गर्न खोजिँदै छ । यसको विरुद्धमा नेपाल विद्यार्थी सङ्घ प्रष्ट तरिकाले स्ट्यान्ड राख्छ । अब स्वतन्त्र विद्यार्थी युनियनको सान्दर्भिकतालाई साबित गर्न नेविसंघ अगाडि बढ्छ,’’ सचिव राईले भन्नुभयो । उहाँले वैज्ञानिक, व्यवहारिक र अनुसन्धानात्मक पाठ्यक्रम र शिक्षाको पक्षमा नेविसंघ रहेको बताउनुभयो ।

कार्यक्रममा सरस्वती बहुमुखी क्याम्पसमा नेविसंघबाट स्ववियु सभापतिका उम्मेदवार मुस्कानराज गौतम, नेपाल कमर्स क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार गणेश टण्डन, नेविसंघकी नेत्री मिरा कटुवाल, नेविसंघ स्ववियु निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा.सन्तोष उपाध्यलगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

उहाँहरूले देशव्यापी रूपमा स्ववियुको निर्वाचनमा नेविसंघका उम्मेदवारलाई विजयी गराउन लागि पर्न पनि नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको थियो ।