गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २८ गते । काठमाडौँ महानगरभित्र गुड्ने सवारीसाधनमध्ये आधाभन्दा बढी प्रदूषण मापदण्डविपरीत रहेको पाइएको छ । महानगरपालिकाले सुरु गरेको प्रदूषण परीक्षणमा ५१.४६ प्रतिशत सवारीसाधनले प्रदूषण मापदण्ड उल्लङ्घन गरेको पाइएको हो ।
काठमाडौँ महानगरपालिकाले गत वर्षको पुस २८ गतेदेखि सुरु गरेको सवारीसाधनको प्रदूषण परीक्षणमा अहिलेसम्म दुई हजार पाँच सय सवारीसाधनमध्ये ५१.४६ प्रतिशत प्रदूषण मापदण्डविपरीत सञ्चालन भएको पाइएको महानगरले जनाएको हो । महानगरले सङ्घीय सरकारको वातावरण विभाग र ट्राफिक प्रहरीसँग सहकार्य गरी प्रदूषण जाँच गर्दै आएको छ ।
काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार प्रदूषण परीक्षणका क्रममा डिजेलबाट चल्ने ६२.८८ प्रतिशत र पेट्रोलबाट चल्ने १५ प्रतिशत सवारीसाधन प्रदूषण मापदण्ड उल्लङ्घन गरेको पाइएको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७ र प्रदूषण नियन्त्रण मापदण्ड–२०८१ का आधारमा सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण गर्दै आएको छ ।
प्रदूषण जाँच्ने मेसिन प्रयोगविहीन
एकतिर सडकमा गुड्ने आधाभन्दा बढी सवारीसाधन मापदण्डविपरीत धुवाँ फाल्दै गुडिरहेका छन् भने सवारीसाधनको अवस्था तथा प्रदूषण जाँचका लागि खरिद गरिएको ‘भेहिकल फिटनेस टेस्ट लेन’ मेसिन करिब डेढ दशकदेखि प्रयोगविहीन बनेको छ ।
आवश्यक कार्यविधि तथा प्राविधिक परीक्षण गराउनुपर्ने अनिवार्य व्यवस्था नहुँदा ‘भेहिकल फिटनेस टेस्ट लेन’ मेसिन करिब डेढ दशकदेखि प्रयोगविहीन बनेको छ । सवारीसाधनको अवस्था परीक्षण गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सवारी परीक्षण कार्यालय टेकुले २०६८ सालमा दुई वटा मेसिन खरिद गरेको थियो ।
सवारीसाधन परीक्षण गर्ने सो मेसिन मुलुकभरमै टेकुमा मात्रै छ । भारी र हलुका सवारीसाधन परीक्षणका लागि चीनबाट दुई वटा मेसिन खरिद गरिएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर तथा सवारी परीक्षण कार्यालयका पूर्वप्रमुख मणिराम भुसालले दुर्घटना न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय रूपमै सवारी परीक्षण अनिवार्य हुनुपर्ने भए पनि नेपालको सन्दर्भमा कार्यविधि र ऐन नहुँदा ‘भेहिकल फिटनेस टेस्ट लेन’ मेसिन प्रयोगविहीन बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेसिनलाई कसरी प्रयोग गर्ने, कुन मापदण्डका आधारमा सवारीसाधन परीक्षण गर्ने ? तथा हरेक सवारीसाधनलाई अनिवार्य रूपमा परीक्षण गराउनका लागि मन्त्रालयले आवश्यक कार्यविधि, मापदण्डलगायतका प्रावधान बनाउनु प¥यो । यसरी आवश्यक कार्यविधि निर्माण नभएसम्म परीक्षण कार्यालयले मात्र ‘भेहिकल फिटनेस टेस्ट लेन’ मेसिन प्रयोगमा ल्याउन सक्दैन ।