कपिल ज्ञवाली
सिद्धार्थनगर, चैत १ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वातावरण सुधारका लागि एक सय शृङ्खलाबाट पाँचवटा महत्वपूर्ण घोषणा गरेको छ । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्धन एवं नियमित सरसफाई अभियान एक सय शृङ्खलाको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित पाँच वटा घोषणा गर्नुभएको हो ।
खाणले एकसाथ वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ भएको, नगरमा हर्न निषेध गरिएको, पशु दर्ता प्रणाली सञ्चालनमा ल्याइएको, फोहरमैलाको वर्गीकरण सुरु गरिएको र गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको घोषणा गर्नुभयो । घोषणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दैजाँदा वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने नगर प्रमुख खाणको भनाइ छ ।
फागुन २५ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले सरसफाई अभियानमा आसपासका अन्य पालिकालाई समेत जोड्न तिलोत्तमालाई आग्रह गर्नुभयो ।
सरसफाई, विकास निर्माण र अन्य सामाजिक विषयमा तिलोत्तमाले आफ्नो विशिष्ट पहिचान बनाएको बताउँदै पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधिहरु एकै ठाउँमा रहेको स्पष्ट पार्नुभयो ।
यस्तै, प्रतिनिधिसभा सदस्य एवं प्रथम तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नेपालले दीगो विकास लक्ष्यका लागि जनाएको प्रतिबद्धता पूरा गराउन पनि सरसफाई अभियान हरेक पालिकाले चलाउनुपर्नेमा जोड दिनुभयो । आफ्नो कार्यकालमा सुरु भएको सरसफाई अभियानलाई निरन्तरता दिएकोमा नगरपालिकाको नेतृत्वप्रति आभार व्यक्त गर्दै उहाँले तिलोत्तमालाई अब तरकारीमा आत्मनिर्भर बनाउँदै प्रारङ्गारिक खेतीमा जोड दिन सुझाव दिनुभयो ।
बाग्मती सरसफाई महाअभियानका संयोजक एवं पूर्वमुख्यसचिव लिलामणि पौडेलले फोहोरमैला व्यवस्थापनमा कोही पनि बाधक बन्न नहुने बताउँदै संस्कार बदल्न सके मात्र फोहारमैलाको दीगो व्यवस्थापन हुने बताउनुभयो ।
सो अवसरमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईं, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलगायतले साझा समस्या समाधानका लागि अन्तरपालिका समन्वय हुनुपर्ने बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाले वातावरणको क्षेत्रमा बुधबार गरेका पाँच घोषणाहरुमध्ये वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रमुख रहेको छ । नगर प्रमुख खाणले वातावरणमैत्री समाजको सिर्जनाले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सुनिश्चित गर्न वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान सुरु भएको घोषणा गर्नुभएको हो ।