काठमाडौं, चैत १ गते । मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय भेला चैत्र २३ गते विश्व शान्ति तपोवन भूमि लुम्बिनीमा हुने भएको छ ।
एकेडेमीका संरक्षक एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता हुने भेलाको तयारी थालिएको एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय खेलकुद दिवस अप्रिल ६ को अवसरमा आयोजना हुने राष्ट्रिय भेला अन्तर्गत ‘‘शान्ति र समृद्धिको लागि खेलकुद’’ भन्ने नारा सहित विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने तय भएको उपमहासचिव श्रेष्ठले बताउनुभयो ।
सोही अवसरमा लुम्बिनीमा पिस महिला तथा पुरुष खुला हाफम्याराथन समेत आयोजना हुनेछ । सो प्रतियोगिताका लागि एकेडेमीका एथलेटिक्स विभाग प्रमुख मोहन घलेको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । एकेडेमीले राष्ट्रिय भेलाको अवसरमा विभिन्न १५ वटा खेलको राष्ट्रियस्तरका प्रतियोगिता समेत घोषणा गर्ने जनाएको छ ।
राष्ट्रिय भेलामा ७७ जिल्लाका साथै ७ सय ५३ वटै पालिका कमिटीहरू पनि घोषणा गरिनेछ । एकेडेमीले प्रतिनिधिहरूको नाम पठाउन २०७९ साल चैत्र ७ गतेसम्म आह्वान पनि गरेको छ । भेलालाई सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरी परिचालन गरिएको एकेडेमीले जनाएको छ ।